पानीको सतह बढेपछि त्रिवेणी स्थित गण्डक ब्यारेजका सबै ढोका खोलियो
नवलपरासी । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ। नदीमा पानीको बहाव बढेर खतरा नजिक पुगेपछि ब्यारेजका ढोका खोलिएको हो।

नारायणी नदीमाथि निर्माण गरिएको गण्डक ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणीलाई भारतको भैंसालोटनसँग जोडेको छ। निरन्तरको वर्षाका कारण नदीको सतह बढेपछि ब्यारेजका सबै ढोका खोलिएको गण्डक योजना कार्यालय, भैंसालोटन–वाल्मीकि नगरका सम्पर्क तथा भू–आर्जन अधिकृत शोभित हलुवाईले जानकारी दिनुभयो।
उहाँका अनुसार ब्यारेजको डिजाइन क्षमता ८ लाख क्युसेक भए पनि ब्यारेज जीर्ण अवस्थामा रहेकाले हाल ४ लाख क्युसेकभन्दा बढी पानी धान्न सक्ने अवस्था छैन। अहिले नारायणी नदीमा पानीको बहाव करिब २ लाख ९० हजार क्युसेक पुगेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी मदन थापाका अनुसार ब्यारेजमा दिउँसो १२ बजेको समय सम्म पानीको सतह ९ मिटर पुगेपछि खतरा तह मानिन्छ। अहिले पानीको सतह ८ मिटरभन्दा माथि पुगेकाले नदी खतरा नजिक पुगेको उनले बताए ।
गण्डक ब्यारेजका ढोका खोल्ने तथा बन्द गर्ने अधिकार भारतीय पक्षसँग रहेको छ। नदीको बहाव र पानीको सतह बढिरहेको अवस्थामा आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्