नारायणी नदीको पानी बस्तीमा पस्दा सुस्ताको थारु टोल डुबानमा

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा नारायणी नदीको पानी बस्तीमा पस्न थालेपछि स्थानीय जोखिममा परेका छन्। दिउँसो नदीको पानीको सतह निरन्तर बढ्दै गएसँगै बस्तीमा पानी पसेपछि थारु टोल जलमग्न भएको छ ।
स्थानीय रविन्द्र जैसवालले कच्ची घरमा बस्दै आएका स्थानीयले घरभित्र पानी पस्न थालेपछि घरमा रहेका सामान सुरक्षित स्थानमा रहेका पक्की घरतर्फ सार्न थालेको बताउनुभयो । नदीको बहाव बढ्दै गएपछि स्थानीयमा थप बाढी आउन सक्ने त्रास बढेको छ। जैसवालका अनुसार यहाँका ७८ वटा घरमा पानी पसेको छ । अहिले पानीको सतह केही घट्दै गएको उहाँले बताउनुभयो । “अहिले पानी घटेको छ, थप पानी पर्न सक्ने भएकाले केही मानिस सुरक्षित स्थानमा गएका छन् केही चाहिँ घर छोड्न मानेका छैनन् ।”, जैसवालले भन्नुभयो ।
गण्डक ब्यारेजमा शुक्रबार नारायणी नदीको बहाव १ लाख २९ हजार क्युसेक पुगेको छ। स्थानीयका अनुसार नदीको बहाव निरन्तर बढिरहेको छ। यसअघि नारायणी नदीमा दुई लाख क्युसेकसम्म पानीको बहाव हुँदा पनि सुस्ताको बस्तीमा बाढी पस्ने अवस्था नआएको स्थानीय बताउँछन्।

पछिल्लो समय नारायणी नदीमा बालुवा थुप्रिनुका साथै नदीले आफ्नो धार परिवर्तन गरी सुस्ता गाउँतर्फ सोझिएपछि सामान्य अवस्थामै बस्तीमा पानी पस्न थालेको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार नदीको पानीको सतह बढ्ने क्रम जारी रहेकाले थप ठूलो बाढी आए सुस्ताका अन्य बस्ती समेत जोखिममा पर्न सक्छन्। नदीले धार परिवर्तन गरेपछि यसपटक विगतको तुलनामा कम बहावमै बस्तीमा पानी पस्न थालेको छ।
सुस्तामा अझै १३२ मिटर क्षेत्रमा तटबन्ध निर्माण हुन बाँकी छ। सोही क्षेत्रमा नदीले कटान गर्दै बस्ती नजिक पुगेको स्थानीय बताउँछन्। तटबन्ध निर्माण पूरा नहुँदा नदीको बहाव थप बढेमा बाढी बस्तीमै पस्ने जोखिम बढेको छ। कटान भएको ठाउँबाट पानी पसेकाले उक्त टोल बगर बन्ने हो की भन्ने चिन्तामा स्थानीयहरू छन् ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सुस्ताको अवस्था निरन्तर निगरानीमा राखिएको बताउनुभयो। उद्धार गर्नुपर्ने अवस्था आए तत्काल परिचालन गर्ने गरी सुरक्षा तथा उद्धार टोली तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो।
नदीको बहाव बढिरहेको र तटबन्ध निर्माण हुन बाँकी क्षेत्रमा नदीले कटान गरिरहेको अवस्थामा यस वर्ष ठूलो बाढी आए सुस्ताका बस्तीमा प्रत्यक्ष असर पर्न सक्ने जोखिम देखिएको छ। बर्सेनि सुस्ता बाढीको चपेटामा पर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्