साँगुरी गढीमा गाउँपालिकाबाटै व्यावसायिक र व्यक्तिगत पान वितरण सुरु
धनकुटा । धनकुटाको साँगुरी गढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) दर्ता तथा वितरण सेवा गाउँपालिकाबाटै सुरु गरेको छ ।
स्थानीय नागरिक तथा व्यवसायीलाई करसम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हटाउने उद्देश्यले गाउँपालिकाले स्थानीयस्तरमै पान सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिका अध्यक्ष जितेन्द्र राईले मङ्गलवार पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो । साँगुरी गढी गाउँपालिका वडा नं. ६, बेल्बोटेका सुब्बा ग्यारेजका सञ्चालक विवेक ईवाहाङलाई पान वितरण गर्दै सुरु गरिएको हो । गाउँपालिकाबाट पान दर्ता गर्ने पहिलो सेवाग्राही ईवाहाङ बन्नुभएको छ ।

यसअघि पान दर्ताका लागि सेवाग्राहीले धनकुटा सदरमुकामस्थित सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था थियो । ग्रामीण तथा भौगोलिक रुपमा विकट क्षेत्रका नागरिकलाई सामान्य करसम्बन्धी सेवा लिन समेत समय र अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता थियो । पहिलो सेवाग्राही ईवाहाङका अनुसार सदरमुकाम पुगेर पान दर्ता गर्न वडाको सिफारिस लगायत आवश्यक कागजात तयार पार्दा कम्तीमा तीन दिन समय छुटाउनुपर्ने अवस्था थियो । गाउँपालिकाबाटै सेवा उपलब्ध भएपछि भने आफूले एकै दिनमा प्रक्रिया पूरा गर्न सकेको उहाँले बताउनुभयो । गाउँपालिकाबाटै शून्य लागतमा पान दर्ता गर्न पाउँदा सदरमुकाम जाँदा लाग्ने समय, यातायात खर्च र अन्य झन्झट बचत भएको ईवाहाङले बताउनुभयो ।
स्थानीय स्तरमै पान सेवा उपलब्ध भएपछि नयाँ व्यवसाय सुरु गर्न चाहने युवा, उद्यमी, स्वरोजगार व्यक्ति, साना व्यवसायी तथा व्यक्तिगत रूपमा पान आवश्यक पर्ने नागरिकलाई सहज हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । व्यवसाय दर्ता, पान दर्ता, बैङ्किङ कारोबार तथा करसम्बन्धी प्रक्रियाका लागि पटक–पटक सदरमुकाम धाउनुपर्ने अवस्थासमेत अब कम हुने गाउँपालिकाको विश्वास छ ।
साँगुरी गढी गाउँपालिका भेडेटारजस्तो प्रमुख पर्यटकीय क्षेत्रसमेत समेटिएको स्थानीय तह हो । यहाँ पर्यटन, होटल तथा रेस्टुरेन्ट, यातायात, निर्माण, खुद्रा व्यापार र कृषि क्षेत्रमा साना तथा मझौला व्यवसाय सञ्चालन हुँदै आएका छन् । स्थानीय तहबाटै पान सेवा उपलब्ध भएपछि व्यवसाय दर्ता तथा सञ्चालनका प्रशासनिक प्रक्रिया सहज हुने गाउँपालिका अध्यक्ष राईले बताउनु भयो । उहाँका अनुसार सेवाको स्थानीयकरणले व्यवसायलाई औपचारिक रुपमा सञ्चालन गर्न र कर प्रणालीमा आबद्ध हुन नागरिकलाई थप सहज बनाउने छ । नागरिकले सामान्य सरकारी सेवा लिनकै लागि टाढा जानुपर्ने अवस्था अन्त्य गर्न स्थानीय तहलाई नागरिकको प्रत्यक्ष सेवा स्थलका रुपमा विकास गर्न पान वितरण सेवा सुरु गरिएको राईले बताउनुभयो ।
गाउँपालिकाले पान सेवाबाट व्यवसाय तथा व्यवसायीको विवरण सरकारी अभिलेखमा व्यवस्थित गर्न, करसम्बन्धी दायित्व पूरा गर्न र स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्नसमेत सहयोग पुग्ने जनाएको छ । गाउँपालिकाबाटै सेवा विस्तार हुँदा नागरिकको समय र खर्च बचत हुनुका साथै स्थानीय स्तरमा नयाँ व्यवसाय सञ्चालन गर्ने वातावरण थप सहज हुने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले सेवा सुरु गरेका दिन व्यक्तिगत ५ जनालाई व्यावसायिक १ जनालाई पान वितरण गरेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्