कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
हुम्ला। कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ । दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन् ।
पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुङ्गा सामान्य ‘स्काभेटर’ले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार “ठूला ढुङ्गा खसेकाले स्काभेटरबाट मात्रै हटाउन सम्भव देखिएन । ड्रिल मेसिन प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ ।”
उहाँका अनुसार विष्फोटनका लागि आवश्यक तयारी भइरहेको भए पनि मौसम तथा अन्य प्राविधिक अवस्थाले साथ दिएन भने सडक सञ्चालनमा ल्याउन करिब एक साता अझै लाग्न सक्ने देखिएको छ । यसको लागि आवश्यक बजेटको समेत व्यवस्थापन गर्नुपर्ने भएको छ यद्यपि आयोजना कार्यालयले सडक खुलाउन निरन्तर काम गरिरहेको बताउनुभयो ।
पहिरोका कारण सडकबाट नियमित आवतजावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर वैकल्पिक बाटोअर्थात् सडकको भिरतर्फ डोरी लगाएर भर्याङ बनाई यात्रुहरू वारपार गरिरहेका स्थानीय कमल बुढाले बताउनुभयो ।
ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक रिमिलाल बुढाले निकै कठिनपुर्ण यात्रा गरेर सिमकोट पुगेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरोकारवाला निकाससँग सम्पर्क गर्दा उपाय नलागेपछि हामीले अन्तिम विकल्पको रुपमा भर्याङ लगाएर डोरीको सहायतमा भिर छिचोलेर सारै कष्टकर र जोखिम यात्रा झेलेर सदरमुकाम सिमकोट पुगेका हौँ ।”
सडक अवरुद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् । आयोजना प्रमुख नेपालीले सडक खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालनको काम भइरहेको जनाउँदै जोखिमपूर्ण अवस्थामा यात्रुहरूलाई भिरबाट आवतजावत नगर्न आग्रहसमेत गर्नुभयो । शुक्रबार दिउँसो सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट कैलाश मानसरोवर दर्शन गर्न जाने यात्रुहरु अलपत्र परेका छन् ।कालीबहादुर थापा / रासस







प्रतिक्रिया राख्नुहोस्