तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकका समस्या समाधान गर्न सरकार जिम्मेवार बन्नुपर्नेमा जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जेनजी आन्दोलनका घाइतेहरूको माग पुरा गर्नुपर्ने, अवरुद्ध सडक तथा पुलहरूको पुन निर्माणका कामलाई तीव्र बनाउनुपर्ने, नागरिकका समस्या समाधानमा जिम्मेवार बन्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले जेनजी आन्दोलनका घाइतेहरूले उपचारको व्यवस्था, उचित क्षतिपूर्ति, दीर्घकालीन व्यवस्थापन लगायतका माग गरी झापामा ६ दिनदेखि आन्दोलन गरिरहेको भन्दै उनीहरूको माग पुरा गर्न र न्यायको सुनिश्चितता दिलाउन सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

सांसदहरुले सरकारले राजदूत नियुक्तिका विषयमा आफैले निर्धारण गरेको मापदण्ड कार्यान्वयन गर्न नसकेको उल्लेख गर्दै राजदूत नियुक्तिमा मापदण्ड पालना र पारदर्शी हुनुपर्ने बताउनुभयो ।

सांसदहरुले मधेशका जिल्लाहरूमा कृषि सिँचाइका क्रममा प्रत्येक वर्ष करेन्ट लागेर धेरै मानिसको ज्यान जाने गरेकाले विद्युत् लाइन ट्रान्सफर्मर, पोल, तार तथा कृषि सिँचाइका मोटरहरूको सुरक्षा परिक्षण गर्नुपर्ने र सुरक्षित विद्युत् जडान सम्बन्धी तालिम तथा जनचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने बताउनुभयो ।

भोटेकोशी बाढीका कारण अवरुद्ध बनेका सडक तथा पुलहरूको पुनर्निर्माण कार्यमा तत्काल ध्यान दिनपर्ने, नागरिकका समस्या समाधानमा सरकार जिम्मेवार बन्नुपर्ने, वन्यजन्तुको आतङ्कले किसानको लगानी र आम्दानी खेर गएकाले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा संसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button