तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतीय दौड सफल बनाउन पुम्दी–भुम्दीवासी एकजुट

पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते आयोजना हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, सङ्घसंस्था, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसायी तथा स्थानीय सरोकारवालाहरू एकजुट भएका छन् । 

पुम्दी–भुम्दीको पर्यटन, खेल पर्यटन तथा स्थानीय क्षेत्रको समग्र प्रवर्द्धनसँग जोडिएको प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन स्थानीय स्तरबाट आवश्यक सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता सरोकारवालाहरूले व्यक्त गरेका छन् । 

प्रतियोगिताका लागि स्वयंसेवक परिचालन, धावक सहभागिता, स्वास्थ्य सेवा, खानेपानी, बाटोमा स्वागत तथा सत्कार लगायतका व्यवस्थापनमा स्थानीय तह र समुदायले सक्रिय भूमिका निर्वाह गर्ने जनाएका छन् । 

पोखरा महानगरपालिका–२२ का वडाध्यक्ष हिमलाल बरालले विगतका वर्षदेखि प्रतियोगितालाई वडा तहबाट गर्दै आएको सहयोगलाई यस वर्ष पनि निरन्तरता दिने बताउनुभयो । उहाँका अनुसार एसियाली विकास बैङ्क (एडिबी)को सहकार्यमा पुम्दी–भुम्दी क्षेत्रमा करिब ५२ करोड रुपैयाँ बराबरका पदमार्ग निर्माणको काम अघि बढेको छ भने त्यसका लागि टेन्डर समेत भइसकेको छ ।

प्रतियोगिताका संयोजक दीननाथ बरालको अध्यक्षतामा भएको छलफलमा पुम्दिकोट कोट विकास समितिका कार्यालय सचिव रुद्र पौडेलले प्रतियोगिताको मार्गमा रहेको विशाल महादेवको मूर्ति स्थलमा चेक पोइन्ट रहने भएकाले आवश्यक सहयोग गर्न समिति तयार रहेको बताउनुभयो ।

प्रतियोगिताका संयोजक बरालका अनुसार प्रतियोगितामा खुलासहित छ वटा विधामा प्रतिस्पर्धा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि केही दिनभित्रै पोखरा क्लिक अनलाइन पोर्टलमार्फत आवेदन फाराम खुला गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button