बैतडीमा गौराको उल्लास झल्कने ‘किरपी’ खेलको मौलिक वैभव
बैतडी । बैतडी सहित सुदूरपश्चिमको सांस्कृतिक जीवन रेखा मानिने गौरा पर्वको रौनक देशभर छाइरहँदा बैतडीमा भने एउटा छुट्टै र दुर्लभ मौलिक परम्पराले सबैको ध्यान खिच्ने गर्दछ । दुई जोडी पुरुषको हातमा खेलाइने रुमाललाई ढाल र लट्ठीलाई तरबारको रुपमा लिने गरिन्छ । लट्ठीको चाल र रुमालको आत्म रक्षात्मक घेराले परम्परागत ढाल तलवारको युद्ध कौशललाई प्रतिविम्बित गर्ने गर्दछ ।

बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ स्थित प्रसिद्ध भूमिराज देवताको खला टिल्लेकमा गौरा विशेष जात्रासँगै आयोजना हुने प्राचीन किरपी खेलले स्थानीय संस्कृति, सद्भाव र पुर्खाको विरासतलाई जीवन्त राखिरहेको छ। गौरा पर्वको भोलिपल्ट भूमिराजको द्वारमा लाग्ने ठूलो जात्रामा किरपी खेलिने प्राचीन परम्परा रहेको स्थानीय संस्कृतिका जानकार हरिलाल पन्तले बताउनुभयो ।
बैतडी जिल्लाको साबिकको गुजर गाविस, हाल पाटन नगरपालिका वडा नम्बर ३ मा परापूर्वकालदेखि बसोबास गर्दै आएका भट्ट, पन्त, अवस्थी र विष्ट परिवारको संयुक्त आयोजना र सहभागितामा हुने टिल्लेक जात्रामा किरिपी खेल खेल्ने गरिन्छ । सद्भाव र वीरताको प्रतीक मानिने किरपी नेपाली पोशाक, हातमा लट्ठी तथा परम्परागत ध्वजासहित मैदानमा उतारिने किरपी खेल हेर्न स्थानीय गाउँलेका साथै छिमेकी वडा र जिल्लाका विभिन्न गाउँहरूबाट हजारौँ श्रद्धालुको घुइँचो लाग्ने भूमिराज देवताका धामी कमल सिंह बिष्टले बताउनुभयो ।
गौराको भक्तिमय वातावरणमा पञ्चेबाजाको ताल, देउडा र धुमारीका घन्कासँगै भूमिराज देवताको थानमा जब किरपी प्रस्तुत गरिन्छ, तब सिङ्गो टिल्लेक क्षेत्र उत्सवमय बन्ने गर्दछ ।
स्थानीय संस्कृतिका जानकार विष्णु पन्तका अनुसार किरपी खेल केवल एउटा मनोरञ्जन मात्र नभएर परापूर्व कालदेखिको भाइचारा, एकता र सांस्कृतिक निरन्तरताको प्रतीक मानिने बताइन्छ । स्थानीय भाषामा चौरठ्ठे खाला भनिने टिल्लेक जात्रा चारै थरका परिवारहरूले संयुक्त रूपमा वर्षौँदेखि संरक्षण र सञ्चालन गर्दै आएका छन् । स्थानीय समुदाय र सांस्कृतिक क्षेत्रका अगुवाहरूले सुदूरपश्चिमको दुर्लभ मौलिक खेल परम्पराको दस्तावेजीकरणको रुपमा मान्ने गरिन्छ ।
सुदूरपश्चिममा गौराको मुख्य पूजा सकिएपछि विभिन्न मन्दिरमा जात्रा लाग्ने गर्दछन् । टिल्लेकमा लाग्ने यो जात्रालाई स्थानीय भाषामा टिल्लेकको जात भनिन्छ, जहाँ किरपी नखेलिएसम्म जात्राको विधि पूरा भएको मानिँदैन । यो सँगै टिल्लेक जात्रामा धामी कापेर चौला जाने परम्परा सँगै सिउँडी खाने प्रचलन समेत रहिआएको छ । चार थरको संयुक्त छत (गुठ) भएकाले यो क्षेत्रलाई गुजर भन्ने गरिन्छ । गौरा पर्वको भोलिपल्ट संयुक्त रूपमा यहाँ जात्राको आयोजना गरि भूमिराज देवतालाई इच्छाअनुसार स्थानीयबासीले नेजा, ध्वजा, घण्ट तथा निशानी वस्तु चढाउने गर्छन् । भूमिराज देवतालाई बुङडाका बिष्ट र गुजरका भट्ट परिवारकि बज्यैले स्याउला सोर्ने बेला रगत बगेपछि स्थानीयबासीले हेर्दा विराट शिलामा देवता प्रकट भएको किंवदन्ती रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्