विपद् प्रभावितका लागि ग्लोबल कलेजियट स्कुलको १० लाख सहयोग
पोखरा । भोटेकोशीमा आएको बाढी प्रभावितहरूको राहत र उद्धार तथा पुन स्थापनाको लागि पोखरा ११ रानी पौवामा रहेको प्रतिष्ठित शैक्षिक संस्था ग्लोबल कलेजियट स्कुलले १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ । विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ३ हजार ७०५ सहयोग रकम सङ्कलन गरेको विद्यालयले जनाएको छ ।

विद्यालयका विद्यार्थीहरूबाट रु. ३ लाख २३ हजार १९५, शिक्षक तथा कर्मचारीहरूबाट रु. ३ लाख ३० हजार ५१० र विद्यालय प्रशासनबाट रु. ३ लाख ५० हजार गरी उक्त रकम सङ्कलन गरिएको विद्यालयका प्राचार्य बाबुराम पन्तले बताउनुभयो । सङ्कलित रकममध्ये हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी मार्फत रु. ६ लाख ७० हजार र प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम मार्फत रु. ३ लाख ३३ हजार ७०५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न हस्तान्तरण गरिएको विद्यालयले उल्लेख गरेको छ ।
भाद्र १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका सम्पूर्णप्रति ग्लोबल कलेजियट स्कुल, रानिपौवा, पोखरा परिवारले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
प्राचार्य पन्तले देश ठूलो विपत्तिमा परेको बेला विद्यालय परिवारले आफ्नो क्षेत्रबाट सकेको सहयोग गरेको बताउनुभयो । उहाँले विपद्को समयमा प्रभावित परिवारसँग विद्यालय परिवारको ऐक्यबद्धता रहेको उल्लेख गर्दै राहत, उद्धार तथा पुनर्निर्माणका कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यस पवित्र कार्यमा सहयोग पुर्याउने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति विद्यालय परिवारले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्