भोटेकोशी बाढी प्रभावितको राहत र पुनः स्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : मन्त्री डा.तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कमी हुन नदिइने बताउनुभएको छ ।
गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै सञ्चार मन्त्री डा. मुलुकमा अकल्पनीय बाढीबाट ठूलो क्षति भए पनि सरकारले राहत, उद्धार र पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो
उहाँले राहत सामग्री पर्याप्त रहेको र व्यवस्थापनका लागि आवश्यक स्रोतको कमी हुन नदिने स्पष्ट पार्नुभयो । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री डा.तिमिल्सिनाले बाढी आएको दिनदेखि आफू प्रभावित क्षेत्रमा खटिएको र सरकारको उपस्थितिमा कमी हुन नदिएको दाबी गर्नुभयो ।
बाढी प्रभावितको अस्थायी बसोबासका लागि विद्यालय र अस्पतालका भवन प्रयोगमा ल्याइएको तथा दीर्घकालीन बसोबासको उचित व्यवस्था सरकारले गर्ने उहाँले बताउनुभयो ।
सरकारले प्रभावित क्षेत्रमा सबै शक्ति परिचालन गरेको भन्दै मन्त्री डा.तिमिल्सिनाले ऊर्जा र सञ्चार सेवा छोटो समयमै पुनः स्थापित गरिएको जानकारी दिनुभयो । नेपाल टेलिकम र एनसेलको सेवा पनि सुचारु भइसकेको उहाँले बताउनुभयो ।
बाढीमा परेर हजारौँले ज्यान गुमाउनुपरेको र ठुलो भौतिक संरचनाको क्षति भएको भन्नुहुँदै उहाँले शव व्यवस्थापनको काम वैज्ञानिक तरिकाले गरिएको बताउनुभयो । शव व्यवस्थापनको काम अस्थायी रुपमा गरिएकाले आवश्यक पर्दा थप अध्ययन र व्यवस्थापनको काम गर्न सकिने बताउनुभयो ।
दिनरात खटेर सुरक्षाकर्मीहरू अझै उद्धारको काम गरिरहनुभएको जानकारी दिनुहुँदै मन्त्री डा.तिमिल्सिनाले भन्नुभयो, “यो बाढी अकल्पनीय रुपमा आयो र हामीलाई ठुलो शिक्षा दिएको छ । आगामी दिनमा हुने खतराबाट सचेत हुनुपर्नेछ ।” नेपालमा जलवायु परिवर्तनको असर रहेकाले यस्तो दुर्घटना आउने दिनमा पनि हुन सक्नेतर्फ सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्