तपाईँ सुन्दै हुनुहुन्छः

घर खर्च जुटाउन च्याउको व्यापार 

सोलुखुम्बु । सोलुखुम्बुका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयले जङ्गली च्याउको व्यापार गरेर घर खर्च जुटाउने गरेका छन् । सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट नयाँ बजारमा जङ्गली च्याउको व्यापार निकै फस्टाउन थालेपछि यसबाट ग्रामीण महिलाहरूलाई घर खर्चको बन्दोबस्त गर्न सजिलो भएको बताउँछन् । 

दिनभरी जङ्गलमा खोजेर ल्याउने र बजारमा बिक्री गरेर राम्रो आम्दानी हुने गरेको च्याउ उत्पादनमा आफ्नो लगानी नपर्दा राम्रो फाइदा हुने गरेको तामा खानीकी राम्रीमाया मगरले बताउनुभयो । प्रत्येक वर्ष यस सिजनमा भएको च्याउको व्यापारले घरखर्च धान्न धेरै सहयोग गरेको उहाँको भनाइ छ । वर्षाका समयमा सोलुखुम्बुका विभिन्न जङ्गलमा विभिन्न जातका च्याउ पाउने भएकाले ग्रामीण भेगका कतिपय सर्वसाधारणहरूको गुजारामा च्याउले सहयोग गरेको छ । 

प्रत्येक शनिबार लाग्ने हाटमा रातो, पहेँलोलगायत विभिन्न थरीका नामै थाहा नभएका च्याउ बिक्रीका लागि ल्याइएका हुन्छन् । बजारमा दुधकुण्ड नगरपालिकाका तामाखानी, गार्मा, बेनी, सल्लेरी र काकुलगायतका गाविसहरूबाट जङ्गली च्याउ आउने गरेको छ । जिल्लामा हालसम्म जङ्गली च्याउ खाएर कसैलाई केही नभएकाले बिक्री गरिरहेको व्यापारीहरूको भनाइ छ ।

रातो च्याउ सल्लेरीका विभिन्न कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले कोसेलीका रुपमा समेत लाने गरेका छन् । बजारमा रातो च्याउ केही महँगो मूल्यमा विक्री हुने गरेको छ । औषधीका रुपमा समेत प्रयोग गरिने रातो च्याउ प्रतिकेजी सात सय रुपियाँसम्म बिक्री हुने गरेको छ । त्यस्तै, अघिल्लो वर्ष पहेलो च्याउ प्रतिपाथी चार सय रुपियाँसम्म बिक्री भइरहेको व्यापारी बताउँछन् । 

त्यस्तै, काकुकी ङिमपुटी शेर्पाले पनि विगत लामो समयदेखि सिजनमा च्याउको व्यापार गरेर घर खर्चको जोहो गर्ने गरेको बताउनुभयो । हप्तामा तीन हजार रुपियाँसम्म बिक्री हुने उहाँको भनाइ छ । च्याउ ल्याउनका लागि एकदिन र बजारमा विक्री गर्नका लागि एकदिन गरी दुई दिनको समय लाग्ने व्यापारीहरूको भनाइ बताउँछन् । 

यता च्याउ किन्ने ग्राहक भने खाने नखाने च्याउ छुटाउने निकाय नभएकाले अन्योलमा नै किन्ने गरेको बताउँछन् । परीक्षण नगरेको जङ्गली च्याउ बजारमा आएपनि कसैले त्यसको चासो देखाएको छैन भने हालसम्म बजारमा किनेको च्याउ आएर सोलुमा कसैको स्वास्थ्यमा असर नपरेको उपभोक्ता बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button