तपाईँ सुन्दै हुनुहुन्छः

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै सिन्धुपाल्चोकका विद्यार्थी

सिन्धुपाल्चोक ।  सहयोगका लागि ठूलो रकम नै चाहिन्छ भन्ने छैन, सानो–सानो योगदानले पनि पीडितको जीवनमा ठूलो आशा जगाउन सक्छ । यही सन्देशलाई व्यवहारमै उतार्दै सिन्धुपाल्चोकका विद्यार्थीहरू बाढीपीडितको सहयोगमा जुटेका छन् ।

गत भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर रकम सङ्कलन गर्न थालेका हुन् ।

आफूले दैनिक रूपमा खाने खाजाका लागि अभिभावकबाट पाएको रकममध्ये केही बचत गर्दै विद्यार्थीहरूले बाढीपीडितका लागि सहयोग जुटाइरहेका छन् । उनीहरूको यो अभियानले बालबालिकामा रहेको मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगी भावनालाई समेत उजागर गरेको छ ।

जिल्लाको थाङपाल भ्याली माध्यमिक विद्यालयका छात्रछात्राले विद्यालयभित्रै विद्यार्थीबाट रकम सङ्कलन गरी ५४ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । विद्यालयका प्रधानाध्यापक राजु तामाङका अनुसार अभिभावकले खाजा खर्चका लागि दिएको रकम बचत गर्दै विद्यार्थीहरूले बाढीपीडितका लागि सहयोग गरेका हुन् ।

त्यस्तै, सदरमुकाम चौतारास्थित श्री कृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पनि बाढीपीडितको सहयोगमा अघि सरेका छन् । विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा सङ्कलन गरेको १८ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि एकआपसमा रकम सङ्कलन गरी बाढीपीडितका लागि सहयोग गरेका छन् । विद्यालयका अनुसार विद्यार्थीहरूले सङ्कलन गरेको १५ हजार ५ सय १५ रुपैयाँ दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

विद्यार्थीहरूले गरेको यो सहयोग रकमका हिसाबले ठूलो नदेखिए पनि यसको मानवीय मूल्य भने निकै ठूलो छ । आफ्नो खाजा खर्चबाट कटौती गरेर विपदमा परेका नागरिकका लागि सहयोग गर्नुले नयाँ पुस्तामा सामाजिक उत्तरदायित्व र सहयोगी संस्कारको भावना बलियो हुँदै गएको देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button