बजारको पर्खाइमा बाजुराका स्याउ बगैंचामा बढ्यो चहलपहल
बाजुरा।बाजुरामा स्याउको सिजन सुरु भएसँगै जिल्लाका उच्च पहाडी क्षेत्रमा रहेका स्याउ बगैंचामा चहलपहल बढेको छ। पाकेर बजारका लागि तयार भएका स्याउ स्थानीय बजारमा ढुवानी हुन थालेका छन्। स्याउ पाकेसँगै स्थानीय उपभोक्ता तथा आन्तरिक पर्यटक बगैंचामै पुगेर ताजा स्याउको स्वाद लिने, खरिद गर्ने तथा फोटो–भिडियो खिच्ने क्रम बढेको छ।
बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन, स्वामिकार्तिक खापर गाउँपालिकाका जुकोट र साप्पाटा तथा जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्रका स्याउ बगैंचा यतिबेला आकर्षणको केन्द्र बनेका छन्। हरियाली बगैंचामा राताम्मे हुँदै गएका स्याउले किसानसँगै आगन्तुकलाई समेत लोभ्याएका छन्। सिजन सुरु भएसँगै स्याउ टिप्ने, छान्ने र बजार पठाउने तयारी तीव्र भएको छ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार स्याउ पूर्ण रूपमा पाकिसकेकाले ठूला बजारमा पठाउने पहल सुरु भएको छ। बुढीनन्दा–९ पाण्डुसैनस्थित सहारा स्याउ गार्डेनका सञ्चालक पुरबहादुर रावतका अनुसार ग्राहकहरू सिधै बगैंचामा पुगेर स्याउ खरिद गर्ने र ताजा स्याउको स्वाद लिने क्रम बढेको छ। तर, मार्तडी–कोल्टी सडक ठाउँ–ठाउँमा पहिरोका कारण अवरुद्ध हुँदा जिल्ला बाहिरका ठूला बजारमा स्याउ पठाउन भने समस्या भइरहेको छ।
विषादीरहित उत्पादन हुने बाजुराको स्याउ स्वादिलो र गुणस्तरीय मानिन्छ। यही विशेषताका कारण बाजुराको स्याउप्रति उपभोक्ताको आकर्षण वर्षेनी बढ्दै गएको किसानहरूको भनाइ छ।
कृषि ज्ञान केन्द्रका अनुसार बाजुरामा करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। जिल्लामा वार्षिक करिब १ हजार २० मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ।







प्रतिक्रिया राख्नुहोस्