तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एक महिनामा विपद्का २५ घटना, ३४ लाखको क्षति

भद्रपुर, झापा । झापामा गत साउनमा बाढी, पहिरो, आगलागी, चट्याङ तथा जङ्गली जनावरको आक्रमणलगायत २५ वटा विपद्का घटना भएका छन् ।

ती घटनाका कारण रु. ३४ लाख २४ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार साउनभर भएका विभिन्न विपद्का घटनामा परी दुईजना घाइते भएका छन् भने तीनजनाको सकुशल उद्धार गरिएको छ ।

प्रहरीका अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन् । विभिन्न स्थानमा भएका पाँचवटा आगलागीका कारण रु १९ लाख ३० हजार बराबरको धनमाल क्षति भएको छ । त्यसैगरी, जङ्गली जनावरको आक्रमणका १७ वटा घटना दर्ता भएका छन् । आक्रमणबाट दुईजना घाइते भएका छन् । यस्तै, चट्याङको घटनामा रु. पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक अवालेले मनसुनजन्य तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्लाभर प्रहरी जनशक्तिलाई उच्च सतर्क अवस्थामा राखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button