तपाईँ सुन्दै हुनुहुन्छः

चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छ: सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ I सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

विश्व प्रसिद्ध ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेज (अस्कर अवार्ड) को ९९औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ को टोलीसँग आज मन्त्रालयमा भएको भेटमा सञ्चारमन्त्री डा तिमिल्सिनाले कला क्षेत्रको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताउनुभएको हो । उक्त चलचित्रका निर्माता अनुप पौडेल, कलाकार एलिज घिमिरेलगायत सहभागी टोलीले चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको प्रवद्र्धनका लागि सरकारका तर्फबाट सहयोग तथा सहकार्यको अपेक्षा राखेको थियो ।

सञ्चारमन्त्री तिमिल्सिनाले समग्र चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरकार तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाली कला, संस्कृति र राष्ट्रिय महत्वका विषयवस्तुलाई चलचित्रमार्फत अन्तर्राष्ट्रियस्तरमा पुर्याउने प्रयासलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभयो । सञ्चारमन्त्री तिमिल्सिनाले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न सरकार नीतिगत रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । 

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न रु तीन करोड ५० लाख अनुदान रकम विनियोजन गरेको छ । उक्त बजेट कार्यान्वयन गर्न मन्त्रालयले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणको लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि, २०८३’ निर्माणको काम अन्तिम चरणमा पु¥याएको मन्त्री तिमिल्सिनाले बताउनुभयो । उक्त कार्यक्रममार्फत सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषय समेटिएका यथार्थपरक, मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको उहाँको भनाइ छ । 

सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सुधारलाई समेत प्राथमिकतामा राखिएको बताउनुभयो । अहिले संसद्मा विचाराधीन रहेको चलचित्र विधेयकलाई बलियो र कार्यान्वयनयोग्य बनाउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । चलचित्र क्षेत्रमा लामो समयदेखि अपेक्षा गरिएको नीतिगत तथा संरचनागत परिवर्तनलाई व्यवहारमै अनुभूत हुनेगरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । चलचित्र क्षेत्रको विकासका लागि राज्यको सहयोगलाई नीतिगत, कानुनी तथा आर्थिक पक्षसँग जोडेर अघि बढाउने सरकारको तयारी रहेको उहाँको भनाइ थियो ।

अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू’ यसअघि कान्स फिल्म फेस्टिभलमा समेत पुरस्कृत भएको थियो । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्राप्त सो उपलब्धिलाई सम्मान गर्दै चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले उक्त चलचित्रलाई रु दुई लाख ५० हजार सम्मान प्रदान गरेका थिए । 

निर्माता पौडेलका अनुसार अस्करको ९९औँ संस्करणका लागि छनोट भएसँगै चलचित्रले अन्तर्राष्ट्रियस्तरमा नेपालको चलचित्र उद्योग, कला, संस्कृति र मौलिक कथावस्तुको प्रतिनिधित्व गर्नेछ । यसैबीच, चलचित्रको बिहीबार विशेष प्रदर्शन गर्ने तयारी गरिएको पनि पौडेलले बताउनुभयो । विशेष प्रदर्शनमार्फत चलचित्रको विषयवस्तु तथा यसले उठाएको विषयवस्तु र राष्ट्रिय महत्वका पक्षबारे नीति निर्माता तथा सरोकारवालालाई जानकारी गराउने उद्देश्य राखिएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button