जलवायु न्याय र क्षतिपूर्तिको पहल गर्न राष्ट्रिय सभा सदस्यहरूको माग
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनबाट नेपालका हिमाली श्रृङखलाहरुमा परेको असर, बढ्दो हिमपहिरो र हिमाली क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभएको छ ।
बैठकमा सांसदहरुले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न जिम्मेवार बनाउन नेपालले उक्त विश्व मञ्चमा जलवायु क्षतिपूर्ति र जलवायु न्यायका पहल अघि बढाउनुपर्नेमा जोड दिनभयो ।
जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत र उदार, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था तथा विस्थापित भएकालाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने सांसदहरुले बताउनुभयो ।
यस्तै बैठकको आकस्मिक समयमा सांसदहरुले महिला हिंसा न्यूनीकरण, किशोरीहरूलाई लक्षित साइबर बुलिङ रोकथाम र सबै प्रदेशमा सुरक्षित मातृत्वका लागि आवश्यक नीतिगत सुधार गर्न माग गर्नुभयो ।
सांसदहरुले रोजगारी सिर्जना, सीमा क्षेत्रको सुरक्षा बढाउन, महँगी नियन्त्रण, किसानका उत्पादनको सहज बजारीकरण, मधेश प्रदेशमा आधारभूत सेवा विस्तार र दलित बालबालिकाको निःशुल्क शिक्षामा पहुँचको प्रभावकारी अनुगमन लगायत विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्