क्यान्सर अस्पतालमा बिरामीको स्वास्थ्यलाभका लागि नित्यपूजा तथा आरोग्य प्रार्थना सुरु
बाँके। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नित्यपूजा तथा आरोग्य प्रार्थना अभियान सुरु गरिएको छ।
अस्पताल सञ्चालनमा आएको करिब १२ वर्षपछि धार्मिक अनुष्ठानमार्फत गरिएको संकल्पअनुसार अस्पताल परिसरमा नित्यपूजा तथा बिरामीको स्वास्थ्यलाभका लागि प्रार्थना गर्ने कार्य औपचारिक रूपमा सुरु गरिएको हो।
अस्पताल परिसरमा रहेको मन्दिरमा विधिपूर्वक पूजा, हवन तथा आरोग्य प्रार्थना गर्दै अभियानको शुभारम्भ संकल्पकर्ता सन्त श्री दीनदयालजी महाराजले गर्नुभयो। गुरुपुरोहितबाट मंगलवाचनसहित नित्यपूजा गरी उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको उहाँले जानकारी दिनुभयो।
सन्त दीनदयालजी महाराजका अनुसार परोपकारलाई मुख्य उद्देश्य बनाएर स्थापना गरिएको अस्पताल निर्माणमा देशभरका विभिन्न धर्म र समुदायमा आस्था राख्ने श्रद्धालुको योगदान रहेको छ। महायज्ञमार्फत स्थानीयवासीबाट संकलित दानबाट निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको अस्पतालले क्यान्सरपीडित तथा आर्थिक रूपमा विपन्न नागरिकलाई उपचार सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो।
उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिरामीको सेवामा समर्पित भगवानका दूतका रूपमा उल्लेख गर्दै अस्पतालको मूल उद्देश्य सेवा र परोपकार रहेको बताउनुभयो।
अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले क्यान्सर उपचारमा औषधि तथा चिकित्सकीय सेवासँगै बिरामीको आत्मबल, आत्मविश्वास र सकारात्मक सोचको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो। अस्पताल परिसरमा नियमित गरिने प्रार्थनाले बिरामीमा आत्मबल र सकारात्मक ऊर्जा बढाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
अभियानअन्तर्गत अबदेखि अस्पताल परिसरस्थित मन्दिरमा हरेक दिन विधिपूर्वक नित्यपूजा, आरोग्य प्रार्थना तथा स्वास्थ्यलाभको कामना गरिनेछ। बिरामीको आत्मविश्वास अभिवृद्धिका लागि विभूति, मन्त्र उच्चारण तथा आशीर्वचन प्रदान गर्ने व्यवस्था पनि गरिने सन्त दीनदयालजी महाराजले बताउनुभयो।
नित्यपूजा तथा आरोग्य प्रार्थनामा उपचाररत बिरामीका कुरुवा तथा आफन्तलाई समेत सहभागी गराइनेछ। साथै, मन्दिर परिसरमा नियमित आरोग्य योग सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
नित्यपूजा शुभारम्भ कार्यक्रममा अस्पतालको मातृसंस्था प्रखर परोपकार मिशन नेपालका अध्यक्ष महेन्द्र मल्ल, अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराई तथा बाल क्यान्सर रोग विशेषज्ञ डा. सुभास मेहतासहित चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाको सहभागिता थियो।
कार्यक्रममा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठ, खजुराका धार्मिक अगुवा शिवप्रसाद सुवेदी, समाजसेवी रामचन्द्र बोगटी, पूर्णचन्द्र उपाध्यायलगायतको उपस्थिति थियो।
अस्पतालमा उपचारसँगै आध्यात्मिक तथा मनोबल अभिवृद्धिका गतिविधिलाई अघि बढाउने उद्देश्यले सुरु गरिएको अभियानले बिरामी तथा उनीहरूका परिवारमा आशा, आत्मबल र सकारात्मक वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्