तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबारभित्र सहुलियत खाद्य पसल: खाजा र छुट्टीको समयमा सेवाग्राहीको भिड

काठमाडौँ। सरकारले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सहुलियत खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ।

कार्यालय समयपछि घर फर्कने क्रममा दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएपछि सिंहदरबारमा कार्यरत कर्मचारी तथा सेवाग्राही उत्साहित देखिएका छन्।

सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नजिकै रहेको उक्त सुलभ मूल्य खाद्य बिक्री केन्द्रमा खटिएका कर्मचारीलाई दिनभर सामान बिक्री गर्न भ्याइनभ्याइ छ। बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने बिक्री केन्द्रमा कर्मचारीहरू ग्राहकका जिज्ञासा मेटाउनदेखि सामान प्याकिङ गर्न व्यस्त देखिन्छन्।

विक्री कक्षबाट चामल, दाल, नुन, तेल, मसला र साबुनलगायतका घरायसी सामान बोकेर निस्कनेमा अधिकांश सिंहदरबारभित्रकै कर्मचारी छन् भने केही कामको सिलसिलामा पुगेका सेवाग्राहीसमेत रहेका छन्। सञ्चालनको पहिलो दिन नै एक लाख रुपैयाँभन्दा बढीको सामान बिक्री भएको केन्द्रले जनाएको छ।

विक्री केन्द्रमा कर्णालीको सिमीको दालदेखि कोदो र फापरको पिठोलगायत भान्सामा चाहिने एक सय ४२ प्रकारका खाद्य सामग्री विशेष छुटसहित बिक्रीका लागि राखिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सिंहदरबार बिक्री कक्षका प्रमुख जयचन्द्र न्यौपानेका अनुसार घरायसी सामग्रीका साथै स्टेशनरी, पकाउने ग्यास र चिनीलगायतका थप सामग्री समावेश गर्ने तयारी भइरहेको छ। साथै, उद्योग मन्त्रालयसँग समन्वय गरी बिक्री केन्द्रको क्षमता विस्तारका लागि पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो।

कार्यालय परिसरमै दैनिक उपभोग्य सामग्री पाइने भएपछि बजारसम्म जानुपर्ने बाध्यता हटेको छ। दिउँसोको खाजा समय र कार्यालय छुटिसकेपछि सामान खरिद गर्न सकिने भएकाले विशेषगरी महिला कर्मचारीलाई ठूलो राहत पुगेको संसद् सचिवालयमा कार्यरत रक्षा बस्याल बताउनुहुन्छ।

त्यसैगरी, राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अजय गुरुङ सहुलियत पसलका कारण समय र इन्धन दुवैको बचत भएको बताउनुहुन्छ।

बिक्री केन्द्रमा खाद्यान्न अनुसार प्रतिकिलोग्राम पाँच रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ। पूर्ण रूपमा नेपाली किसानका उत्पादन मात्र राखिएकाले अर्गानिक खाद्य सामग्री खोज्ने ग्राहकहरूको आकर्षण बढी देखिएको छ।

बजारमा खाद्यान्नको मूल्य बढिरहेका बेला सरकारले कार्यालय परिसरमै सुलभ मूल्यमा नेपाली उत्पादन उपलब्ध गराउनु स्वागतयोग्य रहेको राष्ट्रिय डाटा सेन्टरमा कार्यरत देवराज पौडेलको भनाइ छ। फुर्सदको समयमा सामान खरिद गर्न पाउने सुविधाको उहाँले प्रशंसा गर्नुभयो।

सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, आयोग, सङ्घीय संसद्, नेपाल टेलिभिजन र रेडियो नेपाललगायतका निकायमा स्थायी र करार गरी करिब ६ हजार कर्मचारी कार्यरत छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हाल देशभर १९३ स्थानबाट सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएको छ। यसअघि नै दुग्ध विकास संस्थान (DDC) ले पनि सिंहदरबारभित्र दुग्धजन्य पदार्थको बिक्री कक्ष सञ्चालन गर्दै आएको छ।

सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन र चुस्त कर्मचारी संयन्त्रको अवधारणालाई सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको यो सहुलियत पसलले कर्मचारीहरूलाई कार्यालय समयपछि घर फर्कँदा हुने किनमेलको झन्झटबाट मुक्ति दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button