तपाईँ सुन्दै हुनुहुन्छः

न्वाघरी गाडमा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्दै विद्यार्थी र स्थानीय

बैतडी । बैतडीको सिगास गाउँपालिका वडा नम्बर ६ र ७ को सीमाना हुँदै बग्ने न्वाघरी गाड खोलामा पक्की पुल नहुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। विशेष गरी वर्षायाममा न्वाघरी गाड खोलामा पानीको बहाव बढेपछि आवतजावत जोखिमपूर्ण हुने गरेको छ।

न्वाघरी गाडमा पुल नहुँदा दैनिक विद्यालय जाने विद्यार्थी तथा शिक्षकहरू सबैभन्दा बढी प्रभावित हुने गरेका छन्। गाडमा पानीको बहाव बढेका बेला विद्यार्थीहरू जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको सिगास गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तेज बहादुर साउदले बताउनुभयो । केही वर्षअघि स्थानीय सरकारको पहलमा न्वाघरी गाडमा दुईवटा आरसीसी पुल निर्माण गरिएका थिए। पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता भएको भए पनि बाढीले पुल बगाएपछि समस्या झनै बढेको अध्यक्ष साउदको भनाइ रहेको छ ।

न्वाघरी गाडको बाटो हुँदै सिगास क्षेत्रका बासिन्दा स्थानीय बजार मोरीबगर तथा बझाङको मुख्य बजार देउरा जाने गरेका छन्। 

समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदै पुल निर्माणको माग राखिए पनि अहिलेसम्म माग सम्बोधन नभएको स्थानीयहरूको गुनासो रहेको छ। वर्षायाम सुरु भएसँगै समस्या दोहोरिने गरेकाले दीर्घकालीन समाधानका लागि तत्काल पक्की पुल निर्माण गर्नुपर्ने उनीहरूको माग रहेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button