बडीमालिकामा तीर्थयात्रा सुरु, मुख्य पूजा भदौ ११ गते
बाजुरा।धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध बाजुराको बडीमालिकामा यस वर्षको तीर्थयात्रा तथा पूजाआजा आजदेखि सुरु भएको छ। बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार मुख्य पूजा भने भदौ ११ गते हुनेछ।
मुख्य पूजाका दिन अत्यधिक भीड हुने भएकाले दर्शनार्थीलाई सहज बनाउन यस वर्ष करिब १० दिनअघिदेखि नै पूजाआजा सुरु गरिएको हो। जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित बडीमालिका–बुढीनन्दा मेला व्यवस्थापनसम्बन्धी सर्वपक्षीय छलफलमा पुजारी पाध्यायले भदौ १ गतेदेखि पूजा सुरु गर्ने जानकारी दिनुभएको थियो।
हरेक वर्ष बडीमालिकाको मुख्य पूजामा बाजुरासहित देशका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत हजारौँ भक्तजन पुग्ने गरेका छन्। गत वर्ष करिब ४५ हजार भक्तजनले बडीमालिकाको दर्शन गरेको तथ्यांक छ। यस वर्ष करिब ६० हजार दर्शनार्थी आउने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
समुद्री सतहदेखि करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय पर्यटकको रोजाइमा समेत पर्न थालेको छ। यहाँका २२ पाटन, त्रिवेणी, खेतीबेती, विष्णुपानी, धर्मद्वार तथा हिमशृंखलाको मनोरम दृश्यले तीर्थयात्री र पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
नेपाली सेनाले गत वर्ष करिब दुई करोड रुपैयाँको लागतमा प्यागोडा शैलीमा नयाँ मन्दिर निर्माण गरेपछि बडीमालिकाको आकर्षण थप बढेको छ।
मेलालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभएको छ। मेला अवधिभर नेपाली सेनाको मेडिकल टोलीले स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्