आपसी सद्भाव, सामाजिक एकता र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा सांसदहरूको जोड
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव, सामाजिक एकता र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ ।
सभामा सांसदहरुले सुशासन र जनजीविका, किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्भाव कायम गर्न तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसद युवराज शर्माले वर्तमान सरकारले लोकतान्त्रिक विधि र कानुनी प्रक्रिया अनुसार अगाडी नबढेका कारण कतिपय निर्णयहरूबाट सरकार फिर्ता हुन परिरहेको भन्दै यसले सरकारको असफलता पुष्टि गर्ने बताउनुभयो ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले नेपाल मानव तस्करहरूको ट्रान्जिट प्वाइन्ट बनेको भन्दै प्रविधिको दुरुपयोग गरी भइरहेको मानव बेचबिखन र बढ्दो असुरक्षा रोक्न सरकारले ठोस योजना ल्याउनुपर्ने बताउनुभयो ।
सांसद सम्झना देवकोटाले कोशी र मधेश प्रदेशमा भएको साम्प्रदायिक तनावका विषयमा ध्यानाकर्षण गराउँदै सदियौदेखि रहँदै आएको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक एकतामा खलल पुग्ने कार्य कसैले पनि गर्न नहुने बताउनुभयो ।
सांसद किरणबाबु श्रेष्ठले लोकतन्त्रमा नागरिकको जीवन र स्वतन्त्रताको रक्षा गर्नु सरकारको पहिलो दायित्व रहेको बताउँदै मुलुकमा बढ्दै गएको हिंसा, साम्प्रदायिक तनाव र राजनीतिक खिचातानीको अन्त्यका लागि जिम्मेवार बन्न सरकारलाई आग्रह गर्नुभयो ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले सरकारको कार्यशैली, सीमा सुरक्षा र संविधान संशोधनका विषयमा प्रश्न उठाउँदै सुस्ता, कालापानी र लिपुलेक जस्ता संवेदनशील सीमा विवाद समाधान गर्न सरकारले कूटनीतिक पहल गर्न नसकेको आरोप लगाउनुभयो ।
सांसद रुकमिणी कोइरालाले कोशी र मधेश प्रदेशमा भएको घटनाप्रति समयमा नै सचेत बनेर सुरक्षा संवेदनशीलता अपनाउन सरकारलाई आग्रह गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, विश्वास र शान्ति स्थापनामा ध्यान दिनु पर्ने बताउनुभयो ।
सांसद धमेन्द्र पाश्वानले आजको आवश्यकता सुरक्षा व्यवस्थापन मात्रै नभई सामाजिक विश्वासको पुनःनिर्माण भएकोमा जोड दिँदै मधेश घटनाले ठूलो पाठ सिकाएको तथा संवाद र सहमतिबाट समस्याको समाधान गर्न सकिने बताउनुभयो ।
सांसद भुवन बहादुर सुनारले समस्या समाधानका लागि सरकारले समयमा नै पहल नगरेका कारण पूर्वी नेपालबाट समस्या सुरु भएको भन्दै संविधान र धर्म निरपेक्षताका विरुद्ध सहमति गरेर सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने र अराजकता मच्चाउने कार्यमा लागेको आरोप लगाउनुभयो ।
सांसद रेखाकुमारी झाले भारतसँगको खुला सिमानाको दुरुपयोग गर्दै मधेश प्रदेशमा भइरहेको अवैध हतियार ओसारपसार, लागुऔषध कारोबार, मानव बेचबिखन, सङ्गठित अपराधलगायतका गतिविधि हुन नदिन सीमा व्यवस्थापन आवश्यक रहेको औँल्याउनुभयो ।
यसअघि, बैठकको शुन्य समयमा सांसदहरुले दैनिक उपभोग्यबस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले खाना पकाउने ग्याँसको अभाव, तरकारी, फलफूल, खाद्यन्नलगयतका बढेको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।
सांसदहरुले सरकार कोठा खाली छ भन्ने नारासहित दिपा नेपाली लगायतका दलित समुदायका मानिसहरू माइतीघरमा १०७ दिन सत्याग्रह बसिरहेकाले सत्यग्राहीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसदहरुले पश्चिम नवलपरासी सुस्तामा भारतीय पक्षले अस्थायी बाँध भत्काएपछि उत्पन्न विवादका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जिम्मेवार ढङ्गबाट कूटनीतिक रुपमा विवादको समाधान खोज्न र सिमामा रहेका नेपाली नागरिकको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्