सय महिला किसानलाई जलवायु–अनुकूल कृषि तालिम
रौतहट । रौतहटका चन्द्रपुर र गुजरा नगरपालिकाका १०० जना महिला किसानलाई जलवायु–अनुकूल कृषि सम्बन्धी १६ दिने तालिम प्रदान गरिएको छ ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो जोखिम न्यूनीकरण गर्दै दिगो कृषि प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले अक्सफाम नेपालको सहयोग तथा ग्रामीण विकास केन्द्र (आरडीसी) नेपालद्वारा सञ्चालित ‘जलवायु जोखिम तथा सङ्कटा-सन्नताका लागि सामुदायिक उत्थानशीलता’ परियोजनाअन्तर्गत सञ्चालन गरिएको तालिम मङ्गलवार सम्पन्न भएको हो ।
साउन ३ गतेदेखि सुरु भएको तालिममा चन्द्रपुर र गुजरा नगरपालिकाका विभिन्न महिला सशक्तीकरण केन्द्रमा आबद्ध १०० जना महिला किसानको सहभागिता रहेको थियो । सहभागीलाई २५–२५ जनाका चार समूहमा विभाजन गरी प्रत्येक समूहलाई चार दिनका दरले सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको आरडीसी नेपालकी फिल्ड अफिसर ज्योति फुयाँलले जानकारी दिनुभयो ।
तालिममा जलवायु–अनुकूल कृषि प्रविधिबारे प्रत्यक्ष अभ्यास गराइएको थियो । प्लास्टिक टनेलमार्फत बेमौसमी तरकारी खेती, मल्चिङ प्रविधिबाट माटोको चिस्यान संरक्षण, थोपा सिँचाइ प्रणालीमार्फत पानीको मितव्ययी उपयोग, गड्यौला मल उत्पादन तथा स्थानीय वनस्पतिबाट जैविक झोलमल तयार गर्ने विधिबारे किसानलाई प्रशिक्षण दिइएको थियो ।
तालिमका क्रममा सहभागीलाई खेतबारीमै लगेर आधुनिक कृषि प्रविधिको प्रयोगात्मक अभ्यास गराइएको थियो । यसबाट जलवायु परिवर्तनको असर कम गर्दै उत्पादन वृद्धि गर्न सकिने विषयमा जानकारी गराइएको आरडीसी नेपालका कार्यक्रम संयोजक चिरञ्जीवी महतोले जानकारी दिनुभयो ।
महतोका अनुसार जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको असर न्यूनीकरण गर्नुका साथै महिला किसानलाई आर्थिक र सामाजिक रुपमा सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।






प्रतिक्रिया राख्नुहोस्