सुनसरी–सिराहा घटनापछि नेपालगञ्जमा सद्भाव र्याली

नेपालगञ्ज । सुनसरी र सिराहामा भएका पछिल्ला घटनापछि देशभर शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगञ्जमा आज बिहान सद्भाव र्याली आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा आयोजित र्यालीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, धार्मिक अगुवा, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शनिबार बिहान वीपी चोकदेखि वीरेन्द्र चोकसम्म र्याली निकालिएको हो। सहभागीहरूले समाजमा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्ष जिम्मेवार र संयमित हुनुपर्नेमा जोड दिएका थिए।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुनसरी र सिराहाका घटनापछि समाजमा सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले र्याली आयोजना गरिएको बताउनुभयो। उहाँले कुनै पनि घटना वा अफवाहका आधारमा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै सत्यतथ्यमा आधारित सूचनामात्र विश्वास गर्न अनुरोध गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी तामाङले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा सबै समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले बाँकेमा विद्यमान आपसी सद्भाव र सहिष्णुताको वातावरणलाई अझ सुदृढ बनाउन सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्