‘साइबर अपराध नियन्त्रणका लागि कानुनी र संस्थागत संयन्त्र सुदृढ बनाउनुपर्छ’
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले डिजिटल प्रविधिको दुरुपयोग बढ्दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानुनी र संस्थागत संयन्त्र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री बादीले साइबर अपराधबाट जोगाउने नाममा महिला र बालबालिकालाई सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट वञ्चित गर्नुभन्दा अनुसन्धान क्षमता अभिवृद्धि र सुरक्षित डिजिटल वातावरण निर्माणमा केन्द्रित भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।
मन्त्री बादीले चरित्रहत्या, साइबर यौन दुर्व्यवहार तथा मानव बेचबिखनसँग सम्बन्धित साइबर अपराधका घटनाले व्यक्तिको गोपनीयता, मानवअधिकार, मानसिक स्वास्थ्य तथा समग्र सामाजिक सुरक्षामा गम्भीर असर पुर्याइरहेकोले नीतिगत सुधार र पीडित–केन्द्रित सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरूले राजनीतिक रूपमा स्पष्ट धारणा राख्ने महिलामाथि हुने चरित्र हत्या, साइबर बुलिङ र घृणायुक्त अभिव्यक्ति बढेकाले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूको दर्ता र प्रयोगकर्ताको डेटा संरक्षण आवश्यक रहेको बताउनुभयो ।
बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विदेशबाट नेपाललाई लक्षित गरी हुने साइबर अपराध नियन्त्रणका लागि विद्यमान कानुनमा सुधार आवश्यक रहेको र बालबालिकाले टेलिभिजन हेर्ने समयमा हिंसात्मक तथा संवेदनशील दृश्यहरूको प्रसारण गर्न नहुनेमा जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले साइबर दुरुपयोगबाट वैदेशिक रोजगारीको नाममा महिला र युवामाथि हुने मानसिक तथा यौनजन्य हिंसा रोक्न तथा भ्रामक सूचना, घृणाजन्य अभिव्यक्ति र अनलाइन ठगीबाट नागरिकलाई जोगाउन जनचेतना अभिवृद्धि आवश्यक रहेको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्