भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’ सुरु
नेपालगञ्ज । भेरी अस्पतालले कुकुर तथा अन्य जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु जीवजन्तुसँग सम्बन्धित घटनाको विवरण व्यवस्थित रूपमा सङ्कलन, अभिलेख र अध्ययन गर्न ‘बाइट रजिष्ट्रि’ (BITE Registry) सञ्चालनमा ल्याएको छ ।

अस्पतालले विद्युतीय स्वास्थ्य अभिलेख (ईएचआर) प्रणालीसँग जोडिएको बिल्ड (Bheri Hospital Unified Institutional Learning Database) अन्तर्गत यो रजिष्ट्रि सुरु गरेको जनाएको छ । यसमार्फत जनावरको टोकाइ, सर्पदंश, किराको टोकाइ तथा अन्य विषालु जीवजन्तुसँग सम्बन्धित सबै विवरण डिजिटल रूपमा सुरक्षित गरिनेछ ।
रजिष्ट्रिमा बिरामीको आधारभूत विवरण, चोटको अवस्था, उपचारको प्रक्रिया, रेबिजविरुद्धको खोप, रेबिज इम्युनोग्लोबुलिन, सर्पदंशका बिरामीलाई दिइने एन्टि–स्नेक भेनम, औषधिको मात्रा, उपचारपछि आएको सुधार तथा बिरामीको स्वास्थ्य अवस्थासम्बन्धी विवरण राखिने अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार यसबाट प्राप्त हुने तथ्याङ्क उपचारलाई अझ प्रभावकारी बनाउन, उपचारसम्बन्धी मापदण्ड सुधार गर्न, औषधिको आवश्यकता योजना बनाउन, अनुसन्धान गर्न तथा प्रमाणमा आधारित स्वास्थ्य नीति बनाउन उपयोगी हुनेछ ।
यस अनुसन्धानका प्रमुख अनुसन्धाता भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं रहनुभएको छ । अनुसन्धान टोलीमा प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा। राजन पाण्डे, मिर्गौला रोग विशेषज्ञ डा. सौरभ सिंह हमाल, बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का, कन्सल्टेन्ट फिजिसियन डा. सङ्केत रिसाल, एनेस्थेसियोलोजिस्ट डा. पारस पाण्डे, फरेन्सिक विभाग प्रमुख डा. अरवीन शाक्य, मेडिकल अफिसर डा. आनन्द न्यौपाने, डा. देवेन्द्र आचार्य तथा माइक्रोबायोलोजिस्ट आकाश मिश्र सदस्य रहनुभएको छ ।
अस्पतालका अनुसार आर्थिक वर्ष २०८२र८३ मा भेरी अस्पतालमा जनावरको टोकाइका ८ हजार ४०४ र विषालु सर्पदंशका ८० घटना अभिलेख भएका छन् । प्रमुख अनुसन्धाता डा। चापागाईंका अनुसार भेरी अस्पतालमा विशेषगरी बाँके र बर्दियाबाट जनावरको टोकाइ र सर्पदंशका बिरामी धेरै आउने गरेका छन् । बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा हुने मानव–वन्यजन्तु द्वन्द्वका घटनाको तथ्याङ्क राख्न पनि यो रजिष्ट्रि उपयोगी हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार यसबाट प्राप्त तथ्याङ्कले जोखिम बढी भएका क्षेत्र पहिचान गर्न, उपचार सेवा अझ प्रभावकारी बनाउन, औषधिको आवश्यकता वैज्ञानिक रूपमा अनुमान गर्न, स्रोत–साधन व्यवस्थापन गर्न तथा भविष्यमा प्रमाणमा आधारित स्वास्थ्य नीति बनाउन सहयोग पुर्याउनेछ ।
भेरी अस्पतालका अनुसार बाइट रजिष्ट्रि शनिबारदेखि प्रारम्भिक रूपमा सञ्चालनमा आएको हो । आगामी दिनमा यसको दायरा विस्तार गर्दै यसलाई राष्ट्रिय स्तरको ‘नेपाल बाइट रजिष्ट्रि’ का रूपमा विकास गर्ने लक्ष्य अस्पतालले लिएको छ ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले गुणस्तरीय उपचार सेवा, अनुसन्धान र प्रमाणमा आधारित स्वास्थ्य प्रणाली विकासका लागि यो रजिष्ट्रि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले यसको प्रभावकारी कार्यान्वयनका लागि अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सक्रिय सहयोग गर्न आग्रह गर्नुभएको छ ।
अस्पतालका अनुसार यस प्रणालीले जनावरको टोकाइ तथा विषालु जीवजन्तुसँग सम्बन्धित घटनाको भरपर्दो तथ्याङ्क उपलब्ध गराउने, उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, अनुसन्धानलाई बलियो बनाउने तथा भविष्यमा राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्