तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सयौँ यात्रु अलपत्र

मुगु। कर्णाली राजमार्गअन्तर्गत कालिकोटको सेरावाडा क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

बुधबार बिहान परेको वर्षापछि सडकमाथिबाट ठूलो चट्टान र माटोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडक बन्द भएसँगै मुगु, जुम्ला, कालिकोट तथा सुर्खेततर्फ आवतजावत गर्ने दर्जनौँ सवारीसाधन रोकिएका छन् भने सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

छायाँनाथ–रारा नगरपालिका–१०, झाकोटघर, मुगुका यात्रु सुरबहादुर बुढाले सडक अवरुद्ध हुँदा आफूहरू घण्टौँदेखि बाटोमै रोकिएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘एक्कासि ठूलो ढुङ्गासहित पहिरो खस्यो। सडक पूर्ण रूपमा बन्द भएपछि हामी बीच बाटोमै अलपत्र परेका छौँ। कहिले सडक खुल्ने भन्ने टुङ्गो छैन। साना बालबालिका, ज्येष्ठ नागरिक र बिरामी यात्रुले निकै सास्ती भोगिरहेका छन्। सम्बन्धित निकायले तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइदिनुपर्छ।’

पहिरोका कारण यात्रुवाहक गाडीका साथै खाद्यान्न र अत्यावश्यक सामग्री बोकेका मालवाहक सवारीसाधनसमेत बीच बाटोमै रोकिएका छन्।

अवरुद्ध सडक सफा गरी यातायात पुनः सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरी उपकरण परिचालन गर्ने प्रयास भइरहेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button