तपाईँ सुन्दै हुनुहुन्छः

दोहोरो नागरिकता प्रकरणमा दिदीभाई पक्राउ 

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका २ का दिदीभाई दोहोरो नेपाली नागरिकता लिएको तथा त्यसको सनाखत गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३६ वर्षीय मधु थापा र उहाँकी ४५ वर्षीया दिदी सपिना थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीका अनुसार मधु थापाले झुटो विवरण र नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा फरक नामबाट अर्को नेपाली नागरिकता तथा राहदानी लिएको आरोपमा अनुसन्धान गरिएको हो ।

प्रहरीका अनुसार मधुले २०६५ असार १९ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको थियो । त्यसपछि नक्कली एसएलसी प्रमाणपत्र तयार गरी बुबाको नाम ‘नुन बहादुर थापा’ उल्लेख गर्दै ‘कुशल थापा’को नामबाट २०७२ मङ्सिर ४ गते पुनः अर्को नागरिकता लिएको आरोप छ । सोही नामबाट राहदानी समेत लिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा नागरिकता तथा लिखत सम्बन्धी कसुरमा २०८२ चैत १५ गते मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो । मधुलाई प्रहरीले २०८३ भदौ ८ गते पक्राउ गरेको थियो ।

त्यसैगरी मधुको दोहोरो नागरिकता सनाखत गरेको आरोपमा उहाँकी दिदी सपिनालाई भदौ ३१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा भएपछि प्रहरीले दुवै जनालाई २०८३ असोज ५ गते स्याङ्जा जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशपछि मधु थापा २ लाख २५ हजार रुपैयाँ र सपिना थापा १ लाख २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

प्रहरीका अनुसार घटना सम्बन्धी थप कानुनी प्रक्रिया अघि बढिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button