अस्ट्रेलियाको समुद्री पंक्षीमा एच-५ बर्ड फ्लू पुष्टि
सिड्नी। वैज्ञानिकहरूले पहिलो पटक अष्ट्रेलियाको समुद्री पंक्षीमा सङ्क्रामक रोग एच-५ बर्ड फ्लू पत्ता लगाएको अष्ट्रेलिया सरकारले शुक्रबार जनाएको छ । गत जुनदेखि अस्ट्रेलियामा एच-५ बर्ड फ्लूको कुल १२ वटा सङ्क्रमण पुष्टि भएको र सङ्क्रमण स्थानीय वन्यजन्तुमा नभई प्रवासी समुद्री चरामा भएको जनाइएको छ ।
प्रयोगशाला परीक्षणले यो रोगले दक्षिण अस्ट्रेलियाको रोबे सहरको ग्रेटर क्रेस्टेड टर्नलाई संक्रमित गरेको पुष्टि गरेको छ । यद्यपि सङ्क्रमणको वृद्धि एक चिन्ताजनक अवस्था भएको कृषिमन्त्री जुली कोलिन्सले बताउनुभएको छ । उहाँले हालैको एच-५ बर्ड फ्लूका सङ्क्रमणका कारण मृत्यु भएको कुनै प्रमाण नभएको होबार्टमा आयोजि पत्रकार सम्मेलनमा बताउनुभएको छ ।
भाइरस अन्य पशु, कुखुरा पालन वा मानव समुदाय र कृषि प्रणालीमा फैलिएको कुनै सङ्केत नभएकाले मानव स्वास्थ्यका लागि जोखिम कम रहेको उहाँले बताउनुभएको छ । उहाँले प्रवासी समुद्री चरासँग सम्पर्कमा रहने एक तटीय समुद्री पंक्षीमा एच-५ परिक्षण सकारात्मक देखिएको उल्लेख गर्नुभएको हो ।
दक्षिण अष्ट्रेलियाको प्रान्तिय सरकारले चरा फेला परेको क्षेत्रमा “उन्नत निगरानी“ लागु गरेको उहाँले बताउनुभएको छ । यस घातक रोगले अस्ट्रेलियाली जीवजन्तुले सामना गर्ने जोखिमलाई थप्न सक्ने चिन्ता बढेका जनाइएको छ । एच-५ वंशबाट सबै भन्दा बढी प्रभावित हुने जङ्गली चरामा जलपंक्षी, तटीय चरा, समुद्री चरा रहेको जनाइएको छ ।
समुद्री जनावरका साथै अन्य जनावर जस्तै बिरालो, बाख्रा, र सुँगुरमा पनि रोगको सङ्क्रमण पुष्टि भएको देखिएको छ । अधिकारीहरूले यो रोग अन्टार्कटिकाबाट बसाइँसराइ गरी आएका चराबाट अष्ट्रेलियामा आएको हो कि अनेत्रबाट फैलिएको हो भन्ने विषयमा अनुसन्धान भई रहेको जनाएका छन् । रासस/एएफपी








प्रतिक्रिया राख्नुहोस्