इलामका किसान अझै पुनःस्थापनाको प्रतीक्षामा
इलाम । इलामको माई नगरपालिका नजिकैको एउटा जनजाति सामुदायिक भवन कार्यालयको पुरानो भवन छ । यही भवन अहिले चूडामणि दमाईको परिवारको अस्थायी घर बनेको छ । केही महिना अगाडीसम्म आफ्नै खेतमा पहेँलपुर धान हेर्दै भित्र्याउने प्रतीक्षा गरिरहेका उनी अहिले न घरका मालिक छन्, न खेतका । भविष्यको कुनै निश्चित आधारसमेत उनीसँग बाँकी छैन । जीवन उही पुरानो भवनबाट चिहाइरहेको छ ।

२०८२ असोज १८ गतेको भीषण वर्षा र त्यसपछि माई खोलामा आएको बाढीले माई नगरपालिका–इलामका दमाईको घरसँगै १२ कठ्ठा खेतीयोग्य जमिन बगायो । धान भित्र्याउने तयारीमा रहेका बेला आएको बाढीले वर्षौँदेखिको मेहनत एकै रातमा खोस्यो ।
आफ्नै र ठेक्कामा लिएको खेतमा खेती गर्दै आएका उनले वार्षिक ६० देखि ७० मनसम्म धान उत्पादन गर्थे । यही खेतीबाट पाँच जनाको परिवार चल्थ्यो । छोराछोरीको पढाइदेखि औषधोपचार र दैनिक खर्चसम्मको आधार त्यही खेत थियो । तर, अहिले उनी राहतको भरमा जीवन चलाइरहेका छन्, अनि बसिरहेका छन् वनको भवनमा ।
“विपद्का बेला विभिन्न सङ्घसंस्थाले दिएको राहतले केही समय धानियो । तर, अहिले काम गर्ने अवस्था छैन । खेत बगरमा परिणत भइसकेको छ । फेरि खेती गर्ने आधार नै छैन” उनी भन्छन् । उनको पीडा एक्लो कथा होइन । माई नगरपालिका–भटभटेका लिला बहादुर मगरको परिवारको अवस्था पनि उस्तै छ । धान खेती नै जीविकोपार्जनको आधार बनेको उनको परिवार अहिले आम्दानीको स्रोतविहीन बनेको छ । “धान खेती नै सबैथोक थियो । अब के खाने, छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ताले रातभर निद्रा लाग्दैन,” उनी भन्छन् ।
माई नगरपालिकाकी लाखमाया कुमालको परिवार पनि पुस्तौँदेखि धान खेतीमै निर्भर थियो । दुई बिघा जमिनमा लगाइएको धान भित्र्याउने तयारी भइरहेका बेला आएको बाढीले घर, खेत र चौपाया सबै बगायो । “धान खेती नै हाम्रो जीवन थियो । अब कसरी बाँच्ने भन्ने चिन्ता मात्रै बाँकी छ,” लाखमाया भन्छिन् ।
२७ करोडभन्दा बढीको कृषि क्षति
कृषि ज्ञान केन्द्र, इलामका अनुसार अविरल वर्षा, बाढी र पहिरोका कारण जिल्लामा करिब २७ करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको कृषि बालीमा क्षति पुगेको थियो । करिब ३ हजार ४ सय किसान प्रभावित भएका थिए । ६७२ हेक्टर क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ । करिब ३ हजार २० मेट्रिक टन कृषि उत्पादनमा क्षति पुगेको छ ।
माई, जोगमाई, पुवामाई र देउमाई खोलासहित तिनका सहायक खोलामा आएको बाढीले खेतीयोग्य जमिन बगाउने, पुरिने, कटान गर्ने तथा पहिरो जाने अवस्था सिर्जना गरेको हो । जसले गर्दा धेरै कृषकको उत्पादनमा क्षति पुगेको र अझै पुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
राहत अझै प्रतीक्षामै
विपद्पछि स्थानीय तहले विपद् व्यवस्थापन कोषबाट सीमित रकम उपलब्ध गराए पनि अधिकांश किसानले कृषि क्षेत्रसँग सम्बन्धित राहत वा पुनःस्थापनाको सहयोग पाउन सकेका छैनन् । किसानहरूका अनुसार तत्कालीन राहतले केही समय गुजारा चलाउन मद्दत गरे पनि खेतीमा लागेको लगानी, श्रम र वर्ष दिनको आम्दानी गुमेको पीडाको क्षतिपूर्ति हुन सकेको छैन ।
कृषि ज्ञान केन्द्र, इलामका प्रमुख रविकिरण अधिकारीका अनुसार राहत तत्कालको सहारा मात्रै हो, दीर्घकालीन समाधान होइन । “जिल्लाबाट क्षतिको विवरण प्रदेश सरकारमा पठाइसकिएको छ । तर कृषि क्षेत्रका लागि अझै ठोस पुनःस्थापना कार्यक्रम सञ्चालन हुन सकेको छैन । बाली बीमा, जलवायु अनुकूल कृषि प्रणाली र दीर्घकालीन योजना आवश्यक छ,” उनले भने । उनका अनुसार इलामका अधिकांश किसान बाली बीमाको पहुँचबाहिर रहेकाले बाढी–पहिरोले बाली नष्ट हुँदा कुनै क्षतिपूर्ति पाउन सकेका छैनन्।
पुनःस्थापनाको प्रयास
जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख तथा जिल्ला विपद् व्यवस्थापन समिति संयोजक लक्ष्मण ढकालले क्षतिको विवरण प्रदेश सरकारलाई पठाइसकिएको जानकारी दिँदै राहत र पुनःस्थापनाका कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । अहिलेसम्म स्थानीय सरकारले राहत दिएको भरमा छ ।
उनका अनुसार संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर कृषि उत्पादन पुनःस्थापना, सिँचाइ संरचना मर्मत तथा बीउबिजन सहयोगको तयारी भइरहेको छ । यसैबीच, बाढीले क्षति पुर्याएको क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि करिब चार करोड रुपैयाँ लागतमा पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
हालै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको उपस्थितिमा प्रभावित क्षेत्रको अवस्था र पुनःस्थापनाका विषयमा स्थानीय तहका प्रमुख तथा सरोकारवालासँग छलफल समेत गरेका छन् । छलफलमा प्रभावित किसानको दीर्घकालीन पुनःस्थापना, खोला नियन्त्रण र आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने विषयमा सहमति भएको सहभागीहरूले बताएका छन् कृषि तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति भएकाले प्रदेश कृषि तथा पशुपन्छी महाशाखामा बजेटको सुनिश्चितता हुन नसकेको र आवश्यक आर्थिक स्रोतको अभाव रहेको जनाइएको छ।
महाशाखाले प्रभावित क्षेत्रको सम्पूर्ण विवरण तथा क्षतिको तथ्याङ्क सङ्कलन गरी आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइसकेको कृषि तथा पशुपन्छी महाशाखा प्रमुख दीपा दिवालीले जानकारी दिनुभयो। उहाँका अनुसार आवश्यक बजेट तथा स्रोत उपलब्ध भएपछि प्रभावित किसानलाई राहत तथा पुनःस्थापनाका कार्यक्रम अगाडि बढाइनेछ।
माई नगरपालिका मेयर खम्बासिंह लिम्बुका अनुसार इलाम जिल्लामा परेको अविरल वर्षा, बाढी र पहिरोले कृषि, भौतिक संरचना र जनजीवनमा गम्भीर क्षति पु¥याएको छ। विशेषगरी धानबालीमा ठूलो नोक्सानी हुँदा किसानको जीविकोपार्जन प्रभावित भएको उनले बताए।
उनका अनुसार क्षति मूल्याङ्कन, राहत वितरण र पुनर्स्थापनाका लागि जिल्ला प्रशासन, कृषि ज्ञान केन्द्रलगायत निकायसँग समन्वय भइरहेको छ। वास्तविक पीडित किसान राहतबाट नछुटुन् भन्नेमा स्थानीय सरकार प्रतिबद्ध रहेको र तत्कालीन राहतसँगै दीर्घकालीन कृषि पुनःस्थापनाका कार्यक्रम अघि बढाइने उनको भनाइ छ। तत्काल राहत वितरण भए पनि बाढी र पहिरोबाट क्षतिग्रस्त क्षेत्रको पुनःस्थापनाको काम सरकार पक्षबाट अझै सुरु हुन सकेको छैन। यसले प्रभावित किसान र परिवारलाई दीर्घकालीन रूपमा समस्या भइरहेको छ।
तर पुनःस्थापनाका नाममा भएका प्रतिबद्धता र वास्तविक कार्यान्वयनबिच भने अझै ठूलो दूरी देखिएको छ। प्रभावित किसानहरू महिनौँदेखि स्थायी बसोबास, खेतीयोग्य जमिनको व्यवस्थापन र आयआर्जन पुनःस्थापनाको पर्खाइमा छन्। प्रदेश सरकारले विपद् व्यवस्थापन र अत्यावश्यक सेवाका लागि बजेट विनियोजन गरे पनि स्थानीय तहसँगको समन्वय अभाव, कार्यविधिगत जटिलता र ढिलो निर्णय प्रक्रियाका कारण पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन्।
मनसुन प्रतिकार्य योजना तयार
आगामी मनसुनलाई लक्षित गर्दै कोशी प्रदेश सरकारले ‘मनसुन पूर्वको पूर्वतयारी तथा प्रतिकार्य प्रदेश कार्ययोजना २०८२÷०८३’ स्वीकृत गरेको छ। कार्ययोजनाले बाढी, पहिरो, हावाहुरी, चट्याङ र सर्पदंशजस्ता जोखिमको पहिचान गर्दै क्षति न्यूनीकरणलाई प्राथमिकतामा राखेको छ ।
पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, उद्धारका लागि सुरक्षा निकाय र स्वयंसेवकलाई तयारी अवस्थामा राख्ने तथा राहत सामग्रीको पूर्व भण्डारण गर्ने विषयलाई कार्ययोजनामा समेटिएको छ। मन्त्रालयले प्रहरी र प्रशासनको तथ्याङ्कलाई एकीकृत गरी वास्तविक पीडितसम्म छिटो राहत पु¥याउने प्रतिबद्धता जनाएको छ।
जलवायु परिवर्तनको बढ्दो असर
कृषि तथा जलवायु विज्ञ डा। योगेन्द्रमान श्रेष्ठका अनुसार पछिल्ला वर्षहरूमा देखिएको अत्यधिक वर्षा विश्वव्यापी जलवायु परिवर्तनको प्रभाव हो । इलामको भौगोलिक बनावट, ओरोग्राफिक वर्षा र घना वनस्पतिका कारण यहाँ अन्य स्थानको तुलनामा बढी वर्षा हुने गरेको उनले बताए ।
कृषि ज्ञान केन्द्र, इलामका अनुसार यस वर्षको अत्यधिक वर्षाका कारण जिल्लाको समग्र कृषि क्षेत्रमा २७ करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। यसमध्ये ६७५ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा मात्र ८ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। क्षतिको विवरणअनुसार सबैभन्दा बढी क्षति माई नगरपालिकामा भएको पाइएको छ।
इलाम जिल्लाका माई, जोगमाई, पुवामाई र देउमाई खोलासहित तिनका सहायक खोलाहरूमा निरन्तर वर्षाका कारण बहाव अत्यधिक बढ्दा खेतीयोग्य जमिन बग्ने, डुबान, पानी जम्ने, कटान र पहिरो जाने अवस्था सिर्जना भएको छ। यसले खेतबारी, सिँचाइ संरचना र कृषि उत्पादनमा ठूलो असर पारेको छ। विशेषगरी खोला तटीय क्षेत्रका जमिन प्रयोगयोग्य नरहने अवस्थामा पुगेका छन्।
चूडामणि, लाखमाया र लिला बहादुरजस्ता सयौँ किसानका लागि अहिले सबैभन्दा ठूलो प्रश्न एउटै छ— घर बग्यो, खेत बगर बन्यो, राहत पनि पर्याप्त आएन, अब फेरि जीवन कहाँबाट सुरु गर्ने र फेरी वर्षा सुरु भयो।
तत्काल राहतले केही समयको भोक टारे पनि दीर्घकालीन पुनःस्थापना, बाली बीमा, खोला नियन्त्रण र जलवायु अनुकूल कृषि प्रणालीबिनाको अवस्था इलामका किसानका लागि अझै ठूलो चुनौती बनेर उभिएको छ ।








प्रतिक्रिया राख्नुहोस्