एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा
इलाम। मेची राजमार्गअन्तर्गत इलाम(राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ ।
गत असार २३ गते इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन ।

माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि एक महिनायता अवरुद्ध रहेको सो सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।
“पहिरो पन्छाएपछि भाँसिएका क्षेत्रमा पुरेर ग्राभेल गरी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “वर्षाका कारण दलदलमा काम गर्न सकिँदैन । तीन/चार दिन घाम लागेपछि मात्र काम सुरु हुन्छ, तर काम सम्पन्न नहुँदै पानी परेर पुनःभाँसिने समस्याले हैरानी बनाइरहेको छ ।” घाम लागेमा भाँसिएको स्थान पुरेर ग्राभेल गर्ने, भित्तातर्फ अस्थायी ड्रेन निर्माण गर्ने गरी सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले सडक खुलाउन प्रयास गरिरहेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सुरक्षाकर्मी, स्थानीयलगायतको सहकार्यमा प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो । “सडक खुलाउन हामी दिनरात लागिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर अलिकति पानी पर्नासाथ सडक भाँसिने प्रमुख समस्या छ ।”
सडक अवरुद्ध भएपछि एक महिनादेखि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद बनेको स्थानीय बताउँछन् । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका सवारीसाधन माइखोला वारिसम्म र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका सवारीसाधन माइखोला पारीसम्म आउने/जाने गरिरहेका प्रजिअ ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार माइखोला पारिबाट वारी पहिरोमाथिसम्म र वारी पहिरोमाथिबाट माइखोलापारीसम्म करिब डेढ किलोमिटर यात्रुलाई पैदल आवतजावत गर्नुपर्ने बाध्यता छ । बिरामी, अशक्त एवं ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माइखोला पारीसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका उहाँले बताउनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बिरामी, अशक्त एवं ज्येष्ठ नागरिकलाई स्टेचरबाट बोकेर पहिरो प्रभावित क्षेत्रमा वारपार गर्न सहयोग गरिरहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।
प्रहरी निरीक्षक देविदत्त मोतेको नेतृत्वमा १० जना प्रहरी आलोपालो गरी २४सै घण्टा पहिरो प्रभावित क्षेत्रमा खटिएको उहाँले जानकारी दिनुभयो । सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले भने बिहानदेखि बेलुकासम्म समन्वय सहयोग गरिरहेका छन् । प्रहरीले सो क्षेत्रमा गत असार १७ गतेदेखि हेल्पडेक्स (सहायता कक्ष) स्थापना गरी सहयोग गर्दै आएको छ ।
वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना-कञ्चनजङ्घा सडक)अन्तर्गत पुवाखोला र तिल्केनी-सिमलगोलाई सडकअन्तर्गत जोगमाइ खोलामा समेत पुल नभएकाले समस्या भइरहेको प्रजिअ ढकालले उल्लेख गर्नुभयो । घाम लागेका बेला अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालन गरिए पनि वर्षा हुनसाथ बाढीले डाइभर्सन बगाउने समस्याले इलामबाट झापा झर्ने कुनै वैकल्पिक सडक नभएको उहाँले बताउनुभयो ।
गत असोज १८ गतेको वर्षासँगैको पहिरोले अवरुद्ध भएको सो सडक १४ दिनपछि सञ्चालन भएको थियो । यसपटक भने उक्त सबैभन्दा बढी समय अवरुद्ध भएको हो ।
सडकका कारण उपभोग्य सामग्री महँगियो
सडक अवरुद्ध भएपछि निर्माणसहित दैनिक उपभोग्य सामग्री महँगिएका छन् । सामान्य अवस्थामा झापाबाट इलामसम्म प्रतिकिलो रु दुई सयमा आउने सामान अहिले रु पाँच सयदेखि छ सयसम्म पुग्न थालेको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलेले बताउनुभयो । मेची राजमार्गमा ठूला सवारीसाधन कुद्न सकेका छैनन् । साना गाडीबाट सामग्री ल्याउनुपरेकाले ढुवानीमा महँगो पर्ने गरेको हो”, उहाँले भन्नुभयो ।
खाना पकाउने ग्यासको अभाव
पछिल्लो समय इलाममा खाना पकाउने ग्यासको अभाव देखिएको छ । यसअघि आधा सिलिण्डर ग्यास बिक्रीवितरण हुँदा उपभोक्तालाई केही सहज भए पनि पूरा सिलिण्डर आपूर्ति र्न थालेपछि बजारमा अभाव देखिएको स्थानीय प्रकाश नेपालले बताउनुभयो । ।
“आफ्नै घर हुनेले जसोतसो आगो बालेर भए पनि खाना पकाएर खान सक्छन् । तर कोठा भाडामा बस्ने विद्यार्थीलाई सबैभन्दा बढी समस्या परेको छ”, उहाँले भन्नुभयो, “नियमित विद्युत् आपूर्तिमा समस्या भइरहेकाले वैकल्पिक उपायका रूपमा विद्युतीय चुलोसमेत चलाउन पाइएको छैन ।”रासस






प्रतिक्रिया राख्नुहोस्