भदौदेखि रेडियो नेपाल धनकुटाबाट प्रादेशिक कृषि कार्यक्रम प्रसारण हुने

धनकुटा । प्रादेशिक कृषि रेडियो कार्यक्रम रेडियो नेपाल धनकुटाबाट भदौ महिनाको पहिलो आइतबारदेखि प्रसारण हुने भएको छ ।
चालु आर्थिक बर्ष ०८३।०८४ मा उक्त कार्यक्रमलाई निरन्तरता दिनका लागि कृषि विकास निर्देशनालय कोशी प्रदेश विराटनगर र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल धनकुटाबीच हिजो सम्झौता भएको हो ।
४४ वटा कार्यक्रम उत्पादन तथा प्रसारण गर्नका लागि कृषि विकास निर्देशनालयका निर्देशक प्रकाश कुमार डाँगी र रेडियो नेपाल धनकुटाका कार्यालय प्रमुख तिलविक्रम चेम्जोङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ। उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्दै निर्देशक प्रकाश कुमार डाँगीले कृषिसँग सम्बन्धित विभिन्न प्रविधिहरू, सूचनाहरू, विभिन्न बाली विज्ञका कुराहरू, किसान समक्ष पुगेर कृषकको समस्या, सफलताका अनुभव प्रसारण गर्दा अरू कृषकलाई पनि ऊर्जा प्राप्त हुनुका साथै सिकाइको राम्रो माध्यम बनेको बताउनु भयो । निर्देशनालयले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरू आम किसानसमक्ष पुर्याउन र किसानका समस्याहरू बुझेर सम्बोधन गर्न थप सहयोग पुगेको जानकारी दिनुहुँदै प्रादेशिक कृषि रेडियो कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनु भयो ।
निर्देशक डाँगीले कृषि पेशा हाम्रो संस्कृति भएकाले कृषक दाजुभाई तथा दिदी बहिनीहरूलाई यसमा उत्साहित भएर लाग्न आग्रह गर्दै राज्यद्वारा दिइने प्राविधिक लगायतका सेवाहरू सदैव दिन निर्देशनालय तत्पर रहेको समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रेडियो नेपाल धनकुटाका कार्यालय प्रमुख तिलविक्रम चेम्जोङले विगत ७ वर्षदेखि कृषि विकास निर्देशनालय विराटनगरसँगको सहकार्यमा प्रसारण हुँदै आएको प्रादेशिक कृषि रेडियो कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले उत्पादन गरी कृषक तथा सरोकारवाला समक्ष पुर्याईने बताउनु भयो ।
प्रादेशिक कृषि कार्यक्रम प्रत्येक महिनाको पहिलो आइतबार नेपाली, दोस्रो आइतबार राई बान्तवा, तेस्रो आइतबार लिम्बू र चौथो आइतबार पूर्वेली थारु भाषामा प्रसारण हुँदै आएको छ । साँझ ५:३० देखि ५:४५ बजेसम्म प्रसारण हुने १५ मिनेट अवधिको कार्यक्रममा कृषि विज्ञसँगको अन्तर्वार्ता, कृषि क्षेत्रसँग सम्बन्धित स्थलगत रेडियो रिपोर्ट सहित मौसम सम्बन्धि सामाग्री समावेश गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्