प्रतिनिधि सभा बैठक: अर्थमन्त्रीको अभिव्यक्तिका विषयमा प्रतिपक्षीको आपत्ति र विरोध
'सुस्ताको सीमा विवाददेखि मल अभावसम्मका विषयमा सरकारको ध्यानाकर्षण'
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बिहीबार दिनुभएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै विरोध गर्नुभएको छ ।

बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षामान पुनले अर्थमन्त्री डा. वाग्लेले सातवटा करका दर हेरफेर गरेको खुल्लमखुल्ला स्वीकार गर्नुभएको र यो आर्थिक अपराध हो भन्दै संसदीय छानबिन गर्न माग गर्नुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनु भएका नेता पुनले संसदमा टेबल भइसकेको विषयमा परिवर्तन गर्नु गम्भीर भएको भन्दै सूक्ष्म रूपमा अध्ययन, अनुसन्धान गर्नुपर्ने र अर्थमन्त्रीले पुरानो फाइल खोल्ने कुरा गरेकाले आफू अर्थमन्त्री हुँदा देखि कै फाइल खोलेर छानविन गर्न आग्रह गर्नुभयो ।
नेता पुनले अर्थमन्त्री डा. वाग्लेले बिहीबार सभामा र लेखा समिति बैठकमा दिनुभएको जवाफले संसद् र समितिको अवमूल्यन भएको पनि बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले अहिलेसम्म भएका भारतीय प्रधानमन्त्रीहरूले समेत नगरेको नेपालले भारतको भूमि मिचेको दाबी नेपालका प्रधानमन्त्रीले गर्नु नेपालीका लागि लज्जास्पद भएको भन्दै प्रधानमन्त्री आफैले सच्याउनुपर्ने बताउनुभयो ।
उहाँले जेनजी विद्रोहको छानविन गरी आएको मानव अधिकार आयोगको प्रतिवेदनको कार्यान्वयन गर्न माग गर्नुभयो ।
नेकपा एमालेका सांसद गुरु बरालले विगतको कुरालाई देखाएर अर्थमन्त्रीले बजेट सच्याउन नपाउने भन्दै विगतका सबै घटनाहरूलाई छानविन गर्न प्रतिपक्ष तयार रहेको बताउनुभयो ।
सांसद बरालले करका दर हेरफेरका विषयमा संसदीय समिति मार्फत छानबिन गरेर समस्या समाधान गर्नुपर्ने नभए यस खालका चलनहरू चलिरहने तथा गलत नजिर र अभ्यास बसिरहने बताउनुभयो ।
सांसद बरालले प्रधानमन्त्री शाहले संसदमा बोलेको विषय दस्ताबेजका रुपमा अभिलेख भएको भन्दै यसलाई हटाउन माग गर्नुभयो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले सुस्तामा भारतीय सुरक्षा बलले स्थानीयलाई धाक धम्की दिइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सिमानाका विषयमा नेपाली सेनालाई अवलोकन गर्न सिमानामा पठाउन नमिल्ने किन हो भनी प्रश्न गर्दै रक्षा मन्त्रीलाई संसदमा बोलाइदिन सभामुखसमक्ष माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुस्बु ओलीले सीमा विवादका विषय परराष्ट्र मन्त्रीको जवाफमा आफूहरू सन्तुष्ट हुन नसकेको बताउनुभयो ।
बैठकमा सांसदहरुले किसानहरूले मुख्य खेती धान रोप्ने समयमा डिएपी मल नपाएर मारमा परिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले सामाजिक सञ्चाल ह्याक गरी पैसा माग्ने र पैसा ठगीनेक्रम बढेकोतर्फ सरकारको ध्यानाकर्षण गर्दै यस्ता समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसदहरुले पानी उत्पादन गर्ने कम्पनीहरूलाई न्यूनतम सुरक्षा मापदण्डमा बाधेर प्रत्येक जारमा सिल स्टिक स्पष्ट म्याद र मूल्यको व्यवस्था गर्न माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्