तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोधमा आज पनि राष्ट्रिय सभाको बैठक स्थगित

"राष्ट्रिय सभाको अर्को बैठक जेठ २६ गते मङ्गलबार दिउँसो १:१५ बजे बस्ने"

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठक पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारतको सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले मैले प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भनेर दिएको अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षी दलहरूले लगातार राष्ट्रिय सभामा विरोध गर्दै आएका छन् ।

सभाको आजको बैठक पनि सुरु भए लगत्तै सांसदहरूले उठेर विरोध शुरु गर्नुभएको हो ।

बैठकमा नेपाली कांग्रेसका सांसद सुनील बहादुर थापाले प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले अपरिपक्व, गैरजिम्मेवार र तथ्यहीन अभिव्यक्ति दिएर राष्ट्रहित विपरीत काम गरेको भन्दै क्षम याचना गर्नुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय हितसँग जोडिएको विषयमा भ्रम सिर्जना गर्ने छुट कसैलाई पनि नरहेको भन्दै नेपाल भारतको द्धिपक्षी सीमाको विषयमा तेस्रो पक्ष समावेश गर्नु नेपालको हितमा नभएको र यसले थप अनावश्यक तनाव सिर्जना गर्न सक्ने बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुुबहादुर विश्वकर्माले प्रधानमन्त्री शाहले नेपालको हित विपरीत बोलेर नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामा आँच पुर्‍याउने काम गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्नुभयो । 

यस्तै नेकपा एमालेका सांसद सांसद सम्झना देवकोटाले सदनमा उभिएर प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति राष्ट्रहित, राष्ट्रियता विपरीत तथा गैरजिम्मेवार पूर्ण भएकाले यस्ता अभिव्यक्ति दिएर पदमा बसिरहन नहुने भन्दै प्रधानमन्त्री शाहको राजीनामा माग गर्नुभयो ।

बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले एउटै विषयमा लामो समयसम्म लागिरहनु भन्दा कार्यसूचीमा रहेका विधेयक पारितको प्रक्रिया अगाडी बढाउन र राष्ट्रिय सभाको गरिमा कायम गरेर अगाडी बढ्न सांसदहरूलाई आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले राष्ट्रियसभा राष्ट्र हितका पक्षमा सरकार र प्रतिनिधि सभालाई समेत सुझाव सहित गाइड गर्ने संस्था भएको भन्दै प्रधानमन्त्री शाहको अभिव्यक्ति, सांसदहरूको धारणा र देशमा उत्पन्न परिस्थितिलाई सम्हालेर राष्ट्रियसभा अगाडी बढ्न सक्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले अन्य विषयमा सहमति र छलफल गरेर अगाडी बढ्न सकिने भएपनि कार्यसूचीमा रहेको वैकल्पिक विकास वित्त परिचालन विधेयक अगाडी बढाउन सहयोग गर्न सांसदहरूलाई आग्रह गरेपनि सांसदहरु उठेर विरोध जारी राखेपछि बैठक स्थगित गर्नुभयो ।

सभाका यसअघिका दुई वटा बैठक पनि कार्यसूचीमा प्रवेश नै गर्न नसकी स्थगित भएका थिए । 

राष्ट्रिय सभाको अर्को बैठक जेठ २६ गते मङ्गलवार दिउसो १ बजेर १५ मिनेटमा बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button