तपाईँ सुन्दै हुनुहुन्छः

गोकर्णेश्वर नगरपालिकाले निःशुल्क नर्सिङ पढाउने

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्रका छोरीहरूलाई निःशुल्क रुपमा नर्सिङ पढाउने भएको छ ।

पालिकाले शतप्रतिशत छात्रवृत्तिसहित नगर छोरी कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास गर्ने नगरका छोरीहरूलाई PCL Nursing  पढ्नको  लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको नगरप्रमुख दीपक रिसालले बताउनुभयो ।

एसइई पास गरेर नर्सिङ पढ्न चाहने र CTEVT बाट योग्यता क्रममा समावेश भएका गोकर्णेश्वर नगरपालिकाका छोरीहरूलाई छिटो सम्पर्क गर्न पालिकाले अनुरोध गरेको छ ।

यसैबीच गोकर्णेश्वरले जेनजी छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ ।

शैक्षिक सत्र २०८२ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका नगरभित्रका विद्यार्थीहरूलाई लक्षित गर्दै स्वास्थ्य तथा इन्जिनियरिङ अध्ययनका लागि शतप्रतिशत जेनजी छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याइएको नगरप्रमुख रिसालले जानकारी दिनुभयो ।

नगरपालिकाले ‘जेनजी छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षामा युवाको पहुँच विस्तार गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको नगरप्रमुख रिसालले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रतर्फ ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, फिजियोथेरापी असिस्टेन्ट, डेन्टल हाईजेनिस्ट, डिप्लोमा इन फार्मेसी, रेडियोग्राफर तथा अप्थाल्मिक असिस्टेन्ट विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button