किसान ‘मकै बिक्री भएन’, व्यापारी ‘माग छैन’
रौतहट । पछिल्ला समय रौतहटमा मकै खेतीतर्फ किसानको आकर्षण बढ्दै गए पनि उत्पादन बिक्री गर्ने समयमा बजार अभाव र मूल्य घटेपछि किसान चिन्तित बनेका छन् ।

जिल्लाका चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगरपालिकाका किसानले ठूलो परिमाणमा मकै उत्पादन गरे पनि उचित मूल्य नपाउँदा आर्थिक दबाबमा परेका हुन् ।
किसानहरूका अनुसार केही दिनअघिसम्म प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँमा मकै खरिद गर्ने सहमति गरेका व्यापारीले अहिले मूल्य घटाएर दुई हजार छ सय रुपैयाँमा मात्र खरिद गर्न थालेका छन् । त्यससँगै तयारी अवस्थामा रहेको मकै उठाउन समेत व्यापारीहरूले ढिलाइ गर्न थालेपछि किसान थप समस्यामा परेका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका–२ का किसान दिल्लीबहादुर कार्कीले एक साताअघि व्यापारीले मकै खरिदका लागि बोरा छाडेर गएको स्मरण गर्दै अहिले भने मूल्य घटाएर मात्र खरिद गर्ने सर्त राखेको बताउनुभयो । उहाँले मकै सुकाएर बिक्रीका लागि तयारी अवस्थामा राखिए पनि व्यापारीकै कारण समयमै बिक्री गर्न नसकिएको गुनासो गर्नुभयो ।
जुडिबेलाकी किसान सङ्गीता चौधरीले पनि मकै तयार भइसकेपछि उठाउन व्यापारीले आनाकानी गर्न थालेको बताउनुभयो । उहाँका अनुसार उत्पादन बिक्रीमा ढिलाइ हुँदा किसानको लगानी फिर्ता हुने समयसमेत लम्बिएको छ ।
वृन्दावन नगरपालिका–१ बलेरीका किसान रामबाबु राउतले घरमा थुपारेर राखिएको मकै लामो समयसम्म सुरक्षित राख्न कठिन हुने बताउनुभयो । उहाँले समयमा बिक्री नभए वर्षा लाग्दा मकै भिज्ने र गुणस्तरमा असर पुग्ने जोखिम रहेको उल्लेख गर्नुभयो ।
स्थानीय किसानहरूका अनुसार मल, बीउ, विषादी, सिँचाइ, मजदुरी र ढुवानी लगायत खेतीका सबै लागत वर्षेनी बढिरहेका छन् । तर, उत्पादनको मूल्य अपेक्षाअनुसार नबढ्दा लगानी उठाउनसमेत कठिन भएको उहाँहरूको भनाइ छ ।
स्थानीय व्यापारी उमेश पण्डितले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा मकै उत्पादन उल्लेख्य रुपमा बढेकाले सबै किसानको मकै एकै पटक खरिद गर्न कठिनाइ भएको बताउनुभयो । पहिलेको तुलनामा उत्पादन वृद्धि भएकाले व्यापारीले भ्याएसम्म खरिद गरिरहेको उहाँको भनाइ छ ।
अर्का व्यापारी राधेश्याम साहका अनुसार रौतहटबाट खरिद गरिएको मकै पोखरा, काठमाडौँ, नारायणघाट, हेटौँडा लगायतका विभिन्न उद्योगमा बिक्री हुने गरेको छ । यस वर्ष उद्योगहरूबाट अपेक्षाअनुसार माग नआएकाले खरिद तथा ढुवानी प्रक्रियामा ढिलाइ भएको उहाँले बताउनुभयो । केही परिमाणमा मकै भण्डारण गरिसकिएको र थप खरिद गरिएको मकै सीधै उद्योगमा पठाउनुपर्ने भएकाले सवारी साधन तथा मजदुर व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ ।
यता कृषि ज्ञान केन्द्र रौतहटका अनुसार यस वर्ष जिल्लामा मकै खेती गर्ने किसानको सङ्ख्या र खेती क्षेत्र दुवै बढेका छन् । कृषि ज्ञान केन्द्र गौरका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष पाँच हजार ५८० हेक्टर क्षेत्रफलमा मकै खेती गरिएकोमा यस वर्ष छ हजार १०० हेक्टर क्षेत्रमा मकै खेती गरिएको छ ।
उत्पादन वृद्धि भए पनि बजार व्यवस्थापन र मूल्य स्थिरताको अभावले किसानले अपेक्षित लाभ लिन नसकेको देखिएको छ । किसानहरूले सरकारी निकायबाट बजार व्यवस्थापन, न्यूनतम समर्थन मूल्य निर्धारण तथा उत्पादनको सहज बिक्रीका लागि आवश्यक पहल गर्न माग गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्