गौरीटार क्रिकेट मैदान उद्घाटनसँगै बागमती कप टी–२० को शुभारम्भ
मकवानपुर। बागमती प्रदेशको क्रिकेट विकासमा ऐतिहासिक उपलब्धि हासिल भएको छ।

हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशाला परिसरमा निर्माण गरिएको अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान औपचारिक रूपमा सञ्चालनमा आएको छ।
आइतबार आयोजित एक विशेष समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिलालेख अनावरण गर्दै मैदानको उद्घाटन गर्नुभएको हो। मैदान उद्घाटनकै अवसर पारेर आइतबारदेखि नै ‘बागमती कप टी–२० क्रिकेट प्रतियोगिता’ समेत शुभारम्भ भएको छ।

प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर क्रिकेट संघको संयुक्त आयोजनामा सुरु भएको यस प्रतियोगितामा प्रदेशका ६ जिल्लाका टोलीहरू सहभागी छन्। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मकवानपुर र चितवन आमनेसामने भएका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले गौरीटार रङ्गशालालाई बागमती प्रदेशकै प्रमुख खेलकुद केन्द्र (स्पोर्ट्स हब) का रूपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभयो। उहाँले आगामी बजेटमार्फत आवश्यक स्रोत सुनिश्चित गरी क्रिकेट मैदानका बाँकी पूर्वाधार निर्माणलाई तीव्रता दिने प्रतिबद्धता समेत जनाउनुभयो। मैदान परिसरमा थप प्यारापिट, हेल्थ डेस्क, सिन्थेटिक ट्र्याकलगायतका संरचना निर्माण गरी यसलाई बहुउद्देश्यीय खेल परिसरको रूपमा विस्तार गरिने र खेलाडीको भविष्य सुरक्षित गर्न प्रदेश सरकारले नयाँ खेलकुद नीति अघि बढाएको उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्व राष्ट्रिय कप्तान पारस खड्काले गौरीटार क्रिकेट मैदान बागमती प्रदेशको क्रिकेट गतिविधिको मुख्य केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो। विगतमा मकवानपुरका खेलाडीहरूले एउटै मैदानमा विभिन्न खेल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै खड्काले छुट्टै क्रिकेट मैदान निर्माण हुनु क्रिकेट समुदायका लागि ठुलो खुसीको विषय भएको र यसले स्तरीय खेलाडी उत्पादनमा सहयोग पुर्याउने उल्लेख गर्नुभयो।
करिब ११ करोड ७४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार गरिएको हो। मैदानमा पाँचवटा पिच, आधुनिक भूमिगत ड्रेनेज प्रणाली र गुणस्तरीय ‘बर्मुडा दुबो’ लगाइएको छ। हाल मैदानमा करिब ६ सय दर्शक क्षमताको प्यारापिट, भीआईपी तथा भीभीआईपी कक्ष, खेलाडी परिवर्तन कक्ष (चेन्जिङ रुम), सञ्चारकर्मीका लागि मिडिया कक्ष र अपाङ्गमैत्री संरचनाहरू उपलब्ध छन्। आगामी चरणमा चारवटा ब्लकमार्फत थप ६ हजार दर्शक क्षमताको प्यारापिट र डिजिटल स्कोरबोर्ड निर्माण गर्ने योजना रहेको छ।
जेठ २६ गतेसम्म सञ्चालन हुने बागमती कप टी–२० प्रतियोगितामा मकवानपुर, चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोटले प्रतिस्पर्धा गरिरहेका छन्। लिग चरणका खेलपछि उत्कृष्ट टोलीहरू उपाधिका लागि फाइनलमा भिड्नेछन्।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य–सचिव दीपक लामाले गौरीटार क्रिकेट मैदान सञ्चालनमा आएसँगै अबदेखि जिल्ला तथा प्रदेशका अधिकांश आधिकारिक क्रिकेट प्रतियोगिताहरू यहीँ आयोजना गरिने जानकारी दिनुभयो। यसबाट प्रदेशभरिका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र स्तरीय अभ्यासका लागि नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्