तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा ‘सिल्वर डलर’ को व्यावसायिक खेती सुरु

मकवानपुर । मकवानपुरमा व्यावसायिक रूपमै बहुमूल्य र बहुगुणी वनस्पति ‘सिल्भर डलर’ युकालिप्टसको खेती सुरु भएको छ । 

मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेमा व्यावसायिक रूपमै यसको खेती सुरु गरिएको हो । 

परम्परागत मकै, कोदो र तोरी खेतीको तुलनामा आम्दानी बढी हुने भएपछि यहाँका स्थानीय किसानहरू यसतर्फ आकर्षित हुन थालेका छन् । हाल कोकटेका चार जना किसानहरुले करिब १ सय रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमै यसको खेती विस्तार गरेका छन् । विशेष गरी फूलको गुच्छा (बुके), माला र सजावटका लागि उच्च माग रहेको सिल्वर डलर नेपालमै पहिलो पटक यति ठूलो परिमाणमा उत्पादन थालिएको स्थानीय किसान वासुदेव चुनी मगरले बताउनुभयो । 

अन्तर्राष्ट्रिय बजार (खाडी मुलुक) र काठमाडौँका ठूला होटल तथा फूल पसलहरूमा यसको उच्च माग रहेको उहाँले बताउनुभयो । हाल बजारको मागको तुलनामा एक प्रतिशत पनि आपूर्ति गर्न नसकिएकाले यसको बिक्रीमा कुनै समस्या नरहेको उहाँको भनाइ छ । कतारको दोहामा लामो समयदेखि फूल व्यवसाय गर्दै आउनुभएका दिनेश खत्रीले पहिलो पटक कोकटेमा ५० रोपनी जग्गामा यसको व्यावसायिक खेती सुरुवात गर्नुभएको मगरले बताउनुभयो । 

खत्रीकै आग्रहमा आफूले पनि गत २०८२ साल फागुन १० मा प्रतिबिरुवा १ हजार ४ सय रुपैयाँका दरले ३ सय वटा बिरुवा खरिद गरी ४ रोपनी जग्गामा ४ लाख ४७ हजार रुपैयाँको लगानीबाट यो खेती सुरु गरेको मगरले बताउनुभयो । 

मगरका अनुसार चिसो मौसम र उपयुक्त वातावरणका कारण यस क्षेत्रमा सिल्भर डलरको उत्पादन निकै राम्रो देखिएको छ । “सुरुमा ढुङ्गै ढुङ्गा भएको जग्गामा खेती नहोला कि भन्ने डर थियो, तर, अहिले बिरुवा निकै राम्रो सप्रिएको छ ।“ मगरले भन्नुभयो । खेती सुरु गरेको ६ महिनादेखि नै उत्पादन काट्न सुरु गरेको र हालसम्म १ सय ३७ किलो सिल्वर डलर बिक्री गरिसकेको साथै आगामी एक महिनाभित्र थप १ सय किलो उत्पादन हुने अनुमान रहेको मगरले बताउनुभयो । 

बजारमा हाल यसको मूल्य प्रतिकिलो ३ सय रुपैयाँसम्म पर्ने र आफूले बारीबाटै बिक्री गरेको उहाँले बताउनुभयो । रोपेको आठ महिनामा पहिलो पटक र त्यसपछि हरेक १–२ महिनाको फरकमा लगातार ३० देखि ५० वर्षसम्म यसको हाँगा काट्न सकिने मगरले जानकारी दिनुभयो । 

तीन वर्षपछि एउटै बोटबाट वार्षिक १० किलोसम्म उत्पादन लिन सकिने हुँदा ३ सय बोटबाट वार्षिक ९ लाख रुपैयाँसम्म सहजै आम्दानी हुने मगरको भनाई छ । अहिले कोगटेका ४ जना किसानले करिब एक सय रोपनीमा यसको खेती सुरु गरेको र यसतर्फ किसानहरू आकर्षित हुँदै गएको समेत मगरले जानकारी दिनुभयो । 

अष्ट्रेलियाको रैथाने प्रजाति मानिने यो वनस्पतिको पातबाट तेल निकालेर अरोमा थेरापीमा प्रयोग गरिनुका साथै यसको सुगन्धले तनाव मुक्ति र श्वासप्रश्वासको समस्यामा सहयोग पुग्ने तथा लामखुट्टे र साङ्ला भगाउने प्राकृतिक कीटनाशकको रूपमा काम गर्ने हुनाले यसको व्यावसायिक महत्त्व धेरै रहेको मगरले बताउनुभयो । 

नेपालको १ हजार देखि १ हजार ५ सय मिटर उचाइसम्मको मध्यपहाडी क्षेत्र र पानी नजम्ने अम्लीय माटो यसका लागि उपयुक्त मानिन्छ । कोकटेमा यसलाई व्यवस्थित बनाउन थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको छ । खेतीको सम्भावना राम्रो भए पनि सरकारबाट हालसम्म कुनै अनुदान वा प्राविधिक सहयोग नपाएकोमा उहाँले गुनासो गर्नुभयो । बिरुवा महँगो हुने भएकाले सरकारी स्तरबाट सहयोग भए राहत हुने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button