तपाईँ सुन्दै हुनुहुन्छः

बुधबार एसिसी प्रिमियर कपको सुरुआत हुँदै

काठमाडौँ । बुधवारबाट मलेसियामा एसिसी प्रिमियर कपको सुरुआत हुदैछ ।

प्रतियोगिताको पहिलो खेलमा बुधबार नै नेपालले कतारको सामना गर्दैछ । कतार र नेपालबीचको खेल मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा बुधबार बिहान ७ः१५ बाट सुरु हुदैछ ।

महिला ट्वान्टी २० अन्तर्राष्ट्रियमा ४ पटक कतारसँग खेलेको नेपालले शतप्रतिशत जितको नतिजा हात पारेको छ । कतारसँग नेपाल ११९, ६१, १०९ रनले तथा ९ विकेटले विजयी भएको छ । बुधबार कतारसँग पाँचौँ पटक नेपाली टोलीले खेल्दैछ ।

एसिया कपको छनोटको रुपमा रहेको प्रतियोगितामा नेपाल सहित १८ देशको सहभागिता रहेको छ । सहभागी १८ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । एसिसीका अनुसार नेपाल समूह ’डी’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कतार, हङकङ तथा भुटान रहँदा समूह ’ए’ मा थाइल्याण्ड, म्यानमार, जापान, बहराइन, मङ्गोलिया छन् । समूह ’बी’ मा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब तथा समूह ’सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहका छन् ।

एसिसीका अनुसार नेपालले दोस्रो खेलमा जेठ २१ मा भुटानसँग तथा समूह चरणको अन्तिम खेलमा जेठ २३ गते हङकङसँग खेल्नेछ । हरेक समूहको शीर्ष २ मा रहने टोलीहरूका बीचमा जेठ २७ गते क्वार्टर फाइनल खेल हुनेछ ।

चार क्वार्टर फाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसिसी एसिया कपमा स्थान बनाउने छन् । जेठ २९ मा सेमिफाइनल हुने प्रतियोगिताको फाइनल जेठ ३० मा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button