तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा दोस्रो ‘माननीय’ कप क्रिकेट प्रतियोगिता सुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दोस्रो ‘माननीय’ कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

अन्तर वडा स्तरीय प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले उद्घाटन गर्नुभयो । भेरी रकर्स स्पोर्ट्स क्लब नेपालगञ्जको आयोजनामा सुरु भएको प्रतियोगितामा नेपालगञ्जका १६ वटा वडा सहभागी छन् । चालू आर्थिक वर्षको बजेटबाट लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको क्लबका महासचिव साहिल अन्सारीले बताउनुभयो । 

विशाल चोकस्थित खुला मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष मो. साजिद खानको अध्यक्षता एवम् लुम्बिनी प्रदेशसभा सदस्य काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य काफ्लेले क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादनका लागि आफूले गत वर्षदेखि सहयोग गर्दै आएको बताउँदै भविष्यमा पनि निरन्तरता दिने बताउनुभयो । 

त्यस अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ की वडा सदस्य रुमिता श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, बास नेपालका अध्यक्ष शिव कुमार बर्मा, समाजसेवी डिला शाह लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्दै नेपालगञ्ज क्रिकेटको उर्वर भूमि भएको र यहाँबाट प्रतिभावान् खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो । प्रतियोगिता एक सातासम्म सञ्चालन हुने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button