तपाईँ सुन्दै हुनुहुन्छः

दश महिनामा सवारी दुर्घटनामा परी २ हजार २ सय ७८ को मृत्यु

जनकपुरधाम । ट्राफिक सम्बन्धि चेतनाको अभाव, खराब सडक तथा चालकको लापरबाहीका कारणले नेपालमा दुई दिनमा १५ जनाको मृत्यु हुने गरेको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाको आयोजनामा आज जनकपुरधाममा ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीमा महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

सवारी दुर्घटनामा हुने गरेको धनजनको क्षतिले कूल जिडिपीमा १.८ प्रतिशतले ह्रास गर्ने काम भएकाले दुर्घटना न्यूनीकरणका लागि नेपाल सरकारले अगामी आर्थिक वर्षका लागि सडक सुरक्षा सहितका कार्यक्रम गर्नका लागि १५ करोड रकम विनियोजन गरेको जानकारी तिवारीले गराउनुभयो ।

नेपालभर ठूला तथा साना गरेर ६६ लाख ७० हजार ६ सय २८ सवारी साधन दर्ता रहनुका साथै चालु आर्थिक वर्षको १० महिनामा २५ हजार ८ सय ११ सवारी दुर्घटना हुँदा २ हजार २ सय ७८ जनाको मृत्यु भएको छ भने ४० हजार ९ सय ६० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।

गत १० महिनाको अवधिमा प्रदेशगत रुपमा सबै भन्दा बढी सवारी दुर्घटनामा लुम्बिनी प्रदेशमा ५०१ जनाको मृत्यु हुनुका साथै मधेशमा ४ सय ५३ जनाको मृत्यु भएको छ । 

कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले सडक तथा सवारी साधनमा सुरक्षा अपनाउँदा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने भएकाले त्यसका लागि मन्त्रालयले के गर्दा ठिक हुन्छ त्यो गर्न मन्त्रालय तयार भएको बताउनुभयो ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुँईटेलले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रादेशिक अस्पताल, जनकपुरधाम उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, सडक डिभिजन कार्यालय सहितका विभिन्न निकायका व्यक्तिहरू सहभागी रहनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button