पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश

पर्सा । पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहलाई दुई वटा मुद्दाको कसुरमा धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मङ्गलबार लिखित सम्बन्धि कसुरमा प्रमुख सिंहलाई चार लाख धरौटीमा छाड्ने आदेश भएको अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले जानकारी दिनुभयो ।
“झुठा विवरण पेस गरेर नागरिकता बनाएको कसुरमा भने रु १५ हजार धरौटीमा छाड्न आदेश भएको छ” उहाँले भन्नुभयो, “न्यायाधीशबाट आदेश आइसकेको छ । अहिले नगरप्रमुख सिंहले धरौटीको रकम जम्मा गर्ने प्रक्रिया अघि बढाउनुभएको छ ।”
जिल्ला प्रहरी कार्यालय पर्साले मङ्गलबार वीरगञ्ज महानगरका प्रमुख सिंहलाई लिखतसम्बन्धी कसुरमा पक्राउ गरेर पर्सा जिल्ला अदालतमा पेस गरेको थियो । पर्सा जिल्ला अदालतबाट लिखितसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि मात्रै पर्सा प्रहरीको विशेष टोलीले प्रमुख सिंहलाई मङ्गलबार पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।
नगरप्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखितसम्बन्धी कसुर गरेको आरोप लागेको छ ।
पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर लियाकत अलीको जाहेरीले लिखतसम्बन्धी कसुर मुद्दामा प्रमुख सिंहसहितका तीन जनालाई सात दिनभित्र खोजतलास गरेर अदालतमा पेस गर्नका लागि अनुरोध गरेको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्