तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक नियुक्तिको विषयमा विपक्षीद्वारा मधेश प्रदेश सभाको बैठक अवरोध 

जनकपुरधाम । मधेश प्रदेश सभाको आजको बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका छन् । 

बैठक शुरु हुने बित्तिकै विपक्षी दलका प्रदेश सभा सदस्यहरुले आ–आफ्नो ठाउँबाट उठेर मधेस सरकारले प्रदेश लोकसेवा आयोग र जनलोकपाल आयोगमा सदस्य नियुक्ति प्रक्रिया अवैधानिक भएको भन्दै बैठक अवरुद्ध गर्नु भएको हो । 

सभामुख रामआशिष यादवले नीति तथा कार्यक्रम माथिको छलफल भएकाले पटक पटक बस्नका लागि आग्रह गर्दा पनि प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो स्थान उठेर विरोध गर्नु भएपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गर्नु भएको छ । 

मुख्यमन्त्री कृष्णप्रसाद यादवले एकलौटी रुपमा विधि र प्रक्रिया मिचेर लोकसेवा र जनलोकपाल अयोगमा सदस्य नियुक्त गरेको विपक्षी दलका प्रदेश सभा सदस्यहरूको आरोप सहित बैठक अवरुद्ध गर्नु भएको छ । 

विपक्षी दलका तर्फबाट बोल्दै जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य संजय कुमार यादवले अवैध तरिकाले संवैधानिक नियुक्ति भएकाले खारेज गरी मुख्यमन्त्रीले माफी नमागेसम्म बैठक चल्न नदिने चेतावनी दिनु भयो । 

बैठकमा मधेश प्रदेश सरकारको आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम माथिको हिजो देखि छलफल नसकिएकाले आजको लागि बोलाइएको थियो । नीति तथा कार्यक्रम माथिको छलफल नसकिएकाले आज छलफल हुने प्रदेश सभाको कार्यसूची रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button