प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र लिम्पियाधुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्नेगरी काम भइरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरू सँगको प्रश्नोत्तर कार्यक्रममा नेकपा एमालेका सांसद पद्यमा अर्यालले सोध्नुभएको लिपुलेक सम्बन्धी प्रश्नमा प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढाइएको जानकारी दिनुभयो ।
यस्तै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुकुम्वासीको समस्या छिट्टै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो ।
प्रधानमन्त्री शाहले ३५ वर्षमा हुन नसकेको कामको परिणाम ३५ मिनेटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढेको बताउनुभयो ।
यस्तै सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका सञ्चालकहरू बाट नै उठाएको पैसा पीडितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भएजस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्वु ओलीले विद्युत् महसुलमा भ्याट सम्बन्धी सोध्नुभएको प्रश्नमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र अहिले नै देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो ।
प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा ५ प्रतिशत भ्याट लगाइएको स्पष्ट पार्नुभयो ।
यस्तै भदौ २३ र २४ गतेको आन्दोलनका सम्बन्धमा गौरीबहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीको प्रश्नमा प्रधानमन्त्री शाहले सबै प्रतिवेदनहरूको अध्ययन भइरहेको र क्रमशः कार्यान्वयनमा जाने बताउनुभयो ।
यस्तै भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको प्रश्नमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रुपमा लिएर सम्पूर्ण ध्यान यसैमा केन्द्रित गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री बालेन्द्र शाह आजको बैठकमा आकस्मिक रुपमा सांसदहरू सँगको प्रश्नोत्तरका लागि रोष्टममा पुगेपछि संसदमा केहीबेर अन्योलपूर्ण अवस्था देखिन पुगेको थियो ।
प्रधानमन्त्री रोष्टममा पुग्नासाथ सभामुख डोलप्रसाद अर्यालले दलगत रुपमा प्रश्न राख्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई समय उपलब्ध गराएपछि सांसदहरू युवराज दुलाल, ऐन महरले नियमापत्ति गर्नुभएको थियो ।
यस्तै नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रश्न राख्ने क्रममा समेत प्रधानमन्त्रीले आकस्मिक रुपमा समय लिएर प्रश्नोत्तर गर्न सक्ने भएपनि नियमावली अनुसार पुनः प्रश्नोत्तरको कार्यक्रम राख्न माग गनुभयो ।
प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको जवाफ दिएर संसदबाट बाहिरिए पछि पनि प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाए ।
दलहरूले संसद् नियमावलीको व्यवस्था अनुसार नै प्रश्नोत्तर हुनुपर्ने माग गर्नुका साथै सीमा समस्या सम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले दिनुभएका अभिव्यक्ति थप स्पष्ट पार्न पनि आग्रह गरे ।







प्रतिक्रिया राख्नुहोस्