तपाईँ सुन्दै हुनुहुन्छः

बेरुजुको फर्छ्यौटमा गम्भीर बन्न सांसदहरूको आग्रह

काठमाडौँ । सांसदहरुले मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको भन्दै बेरुजुको फर्छ्यौट गर्न सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले कानुनको परिपालना, आर्थिक पारदर्शिता र जबाफदेहिताको अभावका कारण देशको बेरुजु फर्छ्यौटको अवस्था निराशाजनक बनेको बताउनुभयो । 

सांसदहरुले बेरुजु फर्छ्यौटमा नीतिगत रुपमा देखिएको समस्या, कानुन निर्माण र कुन कुन कानुनमा संशोधन आवश्यक हो एकीन गर्न तथा बेरुजुको समस्या समाधान गर्न कसलाई जिम्मेवार बनाउनुपर्ने हो लगायतका विषयमा एकीन विवरण ल्याउन सरकारसँग माग गर्नुभयो ।

बैठकमा विभिन्न १० वटा मन्त्रालयका तर्फबाट सचिव र सहसचिवहरूले मन्त्रालय र मातहतका निकायका बेरुजुको अवस्था, महालेखापरीक्षकको ६३ औ प्रतिवेदनले देखाएको बेरुजु फर्छ्यौटको अवस्था र सम्परीक्षणका लागि मन्त्रालयले गरिरहेको कामहरूबारे जानकारी गराउनुभएको थियो । 

उहाँहरूले विशेष गरी बेरुजु फर्छ्यौटका लागि नीतिगत रुपमा समस्या रहेको, कतिपय स्वायत्त निकायहरूमा नियुक्त भएर आउने व्यक्ति र निकाय बेरुजु फर्छ्यौटमा जिम्मेवार नदेखिएको, सङ्घबाट प्रदेश र स्थानीय तहमा गएका पुराना निकायमा बेरुजु फर्छ्यौटमा समस्या रहेको बारेमा विभिन्न मन्त्रालयका सचिव र सहसचिवले जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button