राष्ट्रिय सभाबाट अभौतिक साँस्कृतिक सम्पदा संरक्षण विधेयक २०८१ पारित
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा अभौतिक साँस्कृतिक सम्पदा संरक्षण विधेयक २०८१ पारित भएको छ ।

विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले विधेयकले समुदाय स्तरमा प्रचलनमा रहेका परम्परागत ज्ञान र साँस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरण गर्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो ।
विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले नेपाल सरकार सन् २०१० मा नै अभौतिक साँस्कृतिक महासन्धिको पक्ष राष्ट्र भएकोले त्यस महासन्धिका प्रावधानहरू कार्यान्वयनमा ल्याउन विधेयक आवश्यक रहेको बताउनुभयो ।
यस्तै बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल भएको छ ।
यसअघि राष्ट्रिय सभाको आजको बैठकमा बोल्ने सांसदहरूले बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव भएकोमा सरकारको ध्यानाकर्षण गराउनुहुँदै अत्यावश्यक औषधिको अभाव हुन नदिन प्रभाकारी कदम चाल्न आग्रह गर्नुभयो ।
बैठकमा सांसदहरूले जडीबुटी र पर्यटनको उच्च सम्भावना रहेको हुम्ला र बाजुराका सीमावर्ती क्षेत्रको देखिएको सीमा विवाद समाधानका लागि सक्रियता देखाउन, रुग्ण बन्दै गएको औषधि उद्योगको सुधारका लागि ध्यान पुर्याउन, हुम्लाको चंखेलीका बाढी–पहिरो प्रभावित व्यक्तिलाई राहत पु¥याउन तथा उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरूले राष्ट्रिय सभामा रिक्त दुई जना सदस्यको तुरुन्त पदपूर्ति गर्न, होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्वासीको समस्या छिटो समाधान गर्न, अन्तर्राष्ट्रिय दातृ निकायबाट प्राप्त ऋण तथा आर्थिक सहयोग उत्पादनशील क्षेत्रमा मात्रै खर्च हुन सुनिश्चिता गर्न, दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणको दोस्रो चरणको काम छिटो सुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरूले दलित तथा विपन्न समुदायको विकासमा पर्याप्त बजेट विनियोजन गर्न, रणनीतिक महत्व र राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट अभाव नहुने भरपर्दो व्यवस्था गर्न, भदौ २३ र २४ गतेको घटनामा छानविन गर्न गठित कार्की आयोगको तथा सोही घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १३ गते बुधबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्