तपाईँ सुन्दै हुनुहुन्छः

मध्य पृतनापति ट्रफी : ७ नम्बर वाहिनी चनवन समग्र च्याम्पियन

मकवानपुर। हेटौँडामा वैशाख १४ गतेदेखि सञ्चालन भएको मध्य पृतनापति ट्रफी प्रतियोगिताको उपाधि ७ नम्बर वाहिनी चनवनले जितेको छ। फुटबल, भलिबल, तेक्वान्दो र एथलेटिक्समा उत्कृष्ट प्रदर्शन गर्दै ७ नम्बर वाहिनीले समग्र च्याम्पियन बन्न सफल भएको हो।

सुपारीटार ब्यारेकस्थित फुटबल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा ७ नम्बर वाहिनीअन्तर्गतको गोरखबहादुर गणले ६ नम्बर वाहिनीको शेर गणलाई ३–० गोलअन्तरले पराजित गर्दै फुटबलतर्फ स्वर्ण पदक हात पारेको थियो। यही जितसँगै ७ नम्बर वाहिनीले मध्य पृतनापति ट्रफी आफ्नो नाममा सुरक्षित गर्‍यो।

प्रतियोगितामा विभिन्न खेल विधामा कडा प्रतिस्पर्धा देखिएको थियो। बास्केटबलमा ६ नम्बर वाहिनी विजयी हुँदा भलिबलतर्फ ७ नम्बर वाहिनीको गोरखबहादुर गण पहिलो बनेको थियो। स्विमिङमा ६ नम्बर वाहिनीको शेर गणले स्वर्ण जित्दा तेक्वान्दो, एथलेटिक्स र फुटबलमा भने ७ नम्बर वाहिनीले प्रभुत्व जमायो। बक्सिङतर्फ ६ नम्बर वाहिनीको श्रीनाथ गण तथा जुडोमा पनि ६ नम्बर वाहिनीले स्वर्ण पदक हासिल गरेको थियो।

प्रतियोगिताका विजेता टोली, गण, खेलाडी तथा निर्णायकहरूलाई मध्य पृतना हेटौँडाका पृतनापति विष्णु कुमार खड्का, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक अन्जनी पोखरेल तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सन्जयकुमार यादवलगायतले ट्रफी तथा पदक वितरण गर्नुभएको हो।

धन्यवाद ज्ञापन गर्दै मध्य पृतना उपरथी प्रमुख विष्णु कुमार खड्काले आउँदै गरेको मध्य पृतनाले प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आगामी प्रधान सेनापति ट्रफी प्रतियोगिताका लागि क्लोज क्याम्पमा समावेश गरिने बताउनुभएको हो । उहाँले खेल स्वास्थ्य र राष्ट्रको लागि नै हुने भएकोले आफूले गर्न सक्नुपर्ने सहयोग रहेको खेलाडीहरूमा प्रोत्साहन गर्नुभएको थियो।

प्रतियोगितामा ६ र ७ नम्बर वाहिनीका साथै शेर गण, भैरवबहादुर गण र नयाँ सबुज गणका खेलाडीको सहभागिता रहेको थियो। भलिबल, फुटबल, बास्केटबल, स्विमिङ, जुडो, बक्सिङ, तेक्वान्दो र एथलेटिक्ससहित ८ विधामा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा १ सय २५ महिला खेलाडीसहित कुल ५ सय ५० खेलाडी सहभागी भएका थिए।

४ सय ७१ पदक समावेश गरिएको उक्त प्रतियोगितालाई मध्य पृतनाले आगामी प्रधान सेनापति ट्रफीका लागि महत्वपूर्ण तयारीका रूपमा लिएको जनाएको छ। उल्लेखनीय रूपमा मध्य पृतना हेटौंडा यसअघि पनि प्रधान सेनापति ट्रफी प्रतियोगितामा पाँच पटक च्याम्पियन बनिसकेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button