तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सुकुम्वासी बस्तीको व्यवस्थापन, डोजर आतङ्क, सीमा सुरक्षा फितलो, संसद छलेर ल्याइएको अध्यादेश लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधिसभा कार्यसञ्चालन संसद नियमावली समितिमै फिर्ता पठाउन माग गर्नुभएको छ । 

प्रतिनिधिसभाको आकस्मिक समयमा सचेतक राईले नियमावलीमा विवादित ऐनहरू बाझिएको तथा कानुनले छुनै नसक्ने गरी आएको भन्दै नियमावली टेवल नगरी समितिमा नै पठाउन माग गर्नुभयो । 

नेकपा एमालेका सांसद पद्मा अर्यालले सरकारको नयाँ सोच भनेर संसद्लाई पन्छाएर कार्यपालिकाले स्वेच्छाचारिता लाद्ने प्रयास गरेको आरोप लगाउनुभयो । 

सांसद अर्यालले सरकारले ल्याएको अध्यादेश र प्रधानन्यायाधीश नियुक्ति सिफारिसको विरोध  गर्नुभयो ।

उहाँले उपयुक्त विकल्पबिना अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई डोजर आतङ्कबाट आतङ्कित बनाउने काम भएको भन्दै त्यसको निन्दा गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सुकुमवासी बस्तीमा डोजर लगाउने, संवैधानिक परिषदमार्फत प्रधानन्यायाधीश सिफारिस लगायतमा सरकारी कार्यशैली लोकतन्त्रविपरित भएको तथा सरकार निरङ्कुशतातर्फ उन्मुख भएको भन्दै त्यसको जवाफ माग गर्नुभयो ।  

उहाँले सुकुम्वासी बस्तीमा सुरक्षा फौजको आतङ्क देखाएर सरकारले डोजर चलाएको तथा नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाउनुभयो ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेकोप्रति आपत्ति जनाउनुभयो । 

उहाँले सरकारले सेनाको दुरुपयोग गरेर सुकुम्वासी बस्तीमा आतङ्क मच्चाएको आरोप लगाउँदै देश अभिभावक विहीन बनेको र सरकारको औचित्य सकिएको पनि बताउनुभयो ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुस्बु ओलीले व्यवस्थापन विना सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै विरोध गर्नुभयो ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले स्मार्ट टेलिकमसँग जोडेर आफू विरुद्ध लगाइएको आरोप  पुष्टि गर्न चुनौती दिनुभयो ।

सांसद खरेलले आफू विरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडेर भ्रामक समाचारहरू प्रकाशित भएको र स्मार्ट टेलिकमको प्रकरणमा जोडिएर आफूले एउटा बैठक र फाइल पारित गर्ने कुनै काम नगरेको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button