बाँकेमा ९ महिनामा ७२९ जना क्षयरोगका बिरामी फेला

नेपालगञ्ज । बाँकेमा चालू आर्थिक वर्षको ९ महिनामा ७२९ जना क्षयरोगका बिरामी फेला परेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२९ जना बिरामी फेला परेका हुन् । सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा रहेका छन् ।

नेपालगञ्जमा दुई सय जना, कोहलपुरमा एक सय २९ जना फेला परेका छन् । डुडुवा गाउँपालिकामा ६२, बैजनाथ गाउँपालिकामा ९३, खजुरा गाउँपालिकामा ९२ जना, जानकी गाउँपालिकामा ५८ जना फेला परेको पनि उहाँले बताउनुभयो । राप्तीसोनारीमा ५० र नरैनापुरमा ४५ जना क्षयरोगीका बिरामी फेला परेको पनि उहाँले बताउनुभयो । गत वर्ष एक हजार एक सय ८२ जना क्षयरोगीका बिरामी फेला परेका थिए । पछिल्लो समय बाँकेमा एआई एक्स–रे विधिद्वारा क्षयरोगको सक्रिय खोजपड्ताल शिविर भइरहेको छ । समुदायस्तरमा नेपालगञ्ज र खजुरामा गरिएको शिविरबाट १४ जना क्षयरोगी फेला परेको पनि उहाँले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग फोकल पर्सन विनोद विकका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं.१२, १४, २०, २१ र २२ मा ८ जना क्षयरोगी फेला परेका छन् । त्यस मध्येमा एक जना भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामी फेला परेका छन् । ती वडा नं. १४ का बिरामी हुन् । त्यसैगरी खजुरा गाउँपालिकामा ६ जनामा क्षयरोग फेला परेको छ । त्यसमा वडा नं.८ का एक जना बिरामी पनि भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्थाका फेला परेका छन् ।

नेपालगञ्जस्थित जिल्ला कारागारमा क्षयरोगको पहिचान गर्न सुरु
नेपालगञ्जस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरूको क्षयरोगको पहिचान गर्न सुरु गरिएको छ । त्यसका लागि एआई एक्स–रे विधिद्वारा क्षयरोगको खोजपड्ताल शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहले बताउनुभयो । एआई एक्स–रे विधिबाट क्षयरोग पहिचान गर्ने प्रविधि भनेको कृत्रिम बुद्धिमत्ताको सहायताले छातीको एक्स–रे विश्लेषण गरेर क्षयरोगको सम्भावित संक्रमण पत्ता लगाउने आधुनिक विधि हो ।
यसमा बिरामीको छातीको एक्स–रे तस्वीर कम्प्युटर सफ्टवेयरमा राखिन्छ र एआई प्रणालीले फोक्सोमा देखिने असामान्य दाग, संक्रमण वा क्षयरोगसँग मिल्ने सङ्केतहरू विश्लेषण गर्ने शाह बताउनुहुन्छ । त्यसपछि प्रणालीले क्षयरोगको सम्भावना कति छ भन्ने रिपोर्ट दिन्छ । र, यो विधिबाट रिपोर्ट पनि छिटो आउने उहाँले बताउनुभयो ।
शिविर उद्घाटन गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रोशनलाल चौधरीले प्रदेश सरकारले क्षयरोग मुक्त अभियानका लागि रोगीको पहिचान गर्ने र उपचारको पहुँचमा ल्याउने गरी विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
उहाँले प्रदेश सरकार आफैँले र कतिपय संघसंस्थाहरूसँग सहकार्यमा यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अभियान चलाइएको उहाँले बताउनुभयो । उहाँले एआई एक्स–रे विधिबाट फोक्सोसँग सम्बन्धित क्षयरोगी पत्ता लगाउन सहज भएको बताउनुभयो ।
यस्तै वि.एन.एम.टी.का कार्यक्रम संयोजक ज्ञानेन्द्र श्रेष्ठले नेपालमा क्षयरोग मुक्त अभियान सफल पार्न समुदायस्तरमा रहेका सबै क्षयरोगीको पहिचान गर्न र उनीहरुलाई उपचारको पहुँचमा ल्याउन जरुरी रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्