डोटीमा बोलेरो जिपले नगर बसलाई ठक्कर दिँदा पाँच जना घाइते
डोटी। डोटीको शिखर नगरपालिका–१० बान्डुङग्रीशैनमा बोलेरो जिपले नगर बसलाई पछाडिबाट ठक्कर दिँदा पाँच जना घाइते भएका छन्।
आज बिहान करिब साढे ९ बजे धनगढीबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ज ००१६ नम्बरको बोलेरो जिपले सोही दिशातर्फ गइरहेको शिखर नगरपालिकाको से १ ख २००६ नम्बरको बसलाई रोकिएको अवस्थामा पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ की १३ वर्षीया प्रियंका बिष्ट, शिखर नगरपालिका १० का ७० वर्षीय दीर्घबहादुर बलायर, बाजुराको बडिमालिका नगरपालिका–१ की ५० वर्षीया कलसी थापा, बडिमालिका ९ का २६ वर्षीय भीष्म भट्ट र बुढीगंगा नगरपालिका ९ की ६० वर्षीया सीता देवी थापा रहेका छन्।
प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य रहेको छ भने प्रियंका बिष्टको टाउकोमा चोट लागेकाले अवस्था मध्यम रहेको छ। सबै घाइतेको स्थानीय शिखर पोलिक्लिनिकमा उपचार गरिएको छ।
दुर्घटनामा संलग्न बोलेरो जिप र चालक बाजुरा बुढिगंगा ८ बरबिसे का जय कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्