तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाह सदनमा अनुपस्थित भएको विषयमा प्रमुख प्रतिपक्षी दलको असन्तुष्टि 

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएको विषयमा असन्तुष्टि जनाएको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा सचेतक निश्कल राईले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थित भएकोप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागी हुन रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो ।

यसैगरी सचेतक राईले राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीको मङ्गलवारको प्रतिनिधि सभाको बैठकमा न्यायाधीशहरूको विषयमा बोलेको भन्दै आलोचना गर्नुभयो । 

बैठकमा सभामुख डोलप्रसाद अर्यालले रास्वपाका संसदीय दलका उपनेता पराजुलीको  हिजोको अभिव्यक्ति आफूले हेर्न बाँकी रहेको भन्दै हेरे अगाडी बढ्ने बताउनुभयो । 

बैठकको आकस्मिक समयमा सांसदहरुले झापा लगायतका देशका विभिन्न भागमा हात्ती आक्रमणका कारण समस्या भइरहेको र वन्यजन्तु र मानव द्वन्द्व बढिरहेको भन्दै व्यवस्थापनमा ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

सांसदहरुले वन्यजन्तुको आक्रमणबाट घाइते भएकाहरूलाई उपचारको लागि राहत व्यवस्था गर्न माग गर्नुभयो । 

सांसदहरुले देशका विभिन्न भागमा सवारी दुर्घटनामा बढिरहेको भन्दै सडक विस्तार, पूर्वाधार विकास, सवारी अनुगमन र सडक सुरक्षाको प्रभावकारी व्यवस्था गर्न माग गर्नुभयो । 

बैठकको शुन्य समयमा सांसदहरुले कर्णाली राजमार्गमा सडक दुर्घटना बढ्दै गएको भन्दै दुई लेन सडक विस्तार र सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्न माग गर्नुभयो ।

सांसदहरुले सिमेन्ट उद्योगहरूबाट निस्कने प्रदूषण  नियन्त्रण र ट्रिपर सञ्चालनका लागि सडक व्यवस्थापन गर्न माग गर्नुभयो ।

बढ्दै गएको लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि समयमा नै प्रभावकारी योजना ल्याउनुपर्नेमा सांसदहरुले  जोड दिनुभयो ।

सांसदहरुले सुकुम्बासीको व्यवस्थापन गर्नुपर्नेमा डोजर आतङ्क मच्चाएर सरकारले गरिबलाई घरबार विहीन बनाएको भन्दै त्यसको विरोध गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button