तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा भूमिहीन तथा सुकुम्बासीको प्रदर्शन, भूमि अधिकार सुनिश्चित गर्न माग

रौतहट । “उठिबास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर” भन्ने मूल नारासहित राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति रौतहटले आइतबार चन्द्रनिगाहपुरमा बृहत् ¥याली तथा सभाको आयोजना गरेको छ ।

भूमिहीन तथा सुकुम्बासी परिवारहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सयौँ भूमि र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरबाट सुरु भएको ¥याली बजारका विभिन्न भाग परिक्रमा गर्दै तीनकुने पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनका क्रममा सहभागीहरूले “भूमि हाम्रो अधिकार हो”, “डोजर आतङ्क बन्द गर”, “सुकुम्बासीलाई आवास सुनिश्चित गर” लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च रौतहटका जिल्ला अध्यक्ष अनुप  माझीले पछिल्लो समय सरकारले सञ्चालन गरेको डोजर अभियानका कारण भूमिहीन तथा सुकुम्बासी परिवार त्रसित बनेको बताउनुभयो । उहाँले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई जबरजस्ती हटाउने कार्य मानवअधिकार विपरीत भएको उल्लेख गर्नुभयो ।

“पछिल्लो समय सरकारले चलाएको डोजर आतङ्कका कारण हामी त्रसित छौँ,” उहाँले भन्नुभयो, “राज्यले हाम्रो भूमि अधिकार जबरजस्ती हनन गर्न पाइँदैन । हाम्रो आवासको अधिकार सुनिश्चित गर्नुपर्छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै अधिकांश वक्ताहरूले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी सुरक्षित बसोबास तथा लालपुर्जा वितरणको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गर्नुभयो । उहाँहरूले भूमि र आवासको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले राज्यले भूमिहीन समुदायको समस्या दीर्घकालीन रूपमा समाधान गर्न ठोस नीति ल्याउनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button